बैतडी जीप दुर्घटनामा मृतक र घाइते सबैको परिचय खुल्यो

३ बर्ष अघि

२0७७ मंसिर ९ मंगलवार

बैतडी जीप दुर्घटनामा मृतक र घाइते सबैको परिचय खुल्यो

बैतडी मंसिर ९ ।  बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका वडा नम्बर १० बुड्डा नजिकै दुर्घटना हुँदा ५ जनाले घटनास्थलमै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।पेन्सन बुझेर झुलाघाटबाट घर फर्किदै गरेका बृद्धबृद्धाहरुको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका वडा नम्बर ५ का ७७ वर्षीय भगीरथ पाण्डेय, सोही ठाउँकी ७० वर्षीया पार्वती देवी चन्द, दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौंका ५८ वर्षीय कृष्ण लावड र दशरथचन्द नगरपालिका वडा नम्बर ५ बस्कोटका ७२ वर्षीया पार्वती चन्द रहेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परी चालकसहित ५ जना घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर ९ का ४६ वर्षीय खगेन्द्र प्रसाद जोशी, दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौंका २२ वर्षीय प्रदिप लावड, दशरथचन्द नगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय रविन्द्र चन्द र चालक दशरथचन्द नगरपालिका वडा नम्बर ४ का अन्दाजी ३५ वर्षीय गोपाल सिंह कार्की रहेको प्रहरीले जानकारी दिएको छ । चालक कार्कीको टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागि धनगढी रेफर गरिएको छ । जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । तीव्र गतिमा रहेका जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ । झुलाघाटमा पेन्सन बुझ्नेहरुको भिड लागेको छ ।