पूर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

पूर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक प्रक्रिया सुरु गरिएको जनाएको छ । 

बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ‘पूर्वाधार बैंक इजाजतसम्बन्धि नीतिगत व्यवस्था, २०७४’ लागू गर्दै बैंक स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए । बैंकको ६३ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बैंक संचालक तथा कार्यकारी प्रमुखको योग्यतासम्बन्धि विनियमावली पनि कार्यान्वयनमा लगिएको स्पष्ट पारे । गभर्नर नेपालले आर्थिक बर्ष २०७४÷०७५ आर्थिक विकासका लागि मार्ग प्रशस्त गर्ने वर्षको रुपमा रहेको पनि बताए । तीनै तहको निर्बाचन सकिएको र मुलुकमा स्थायी सरकार निर्माण भएकोले मुलुक आर्थिक समृद्धिको बाटोमा मोडिएको उहाँको भनाई छ । गभर्नर नेपालले अव मुलुकमा सुशासनको सुनिश्चतता, आन्तरिक तथा बाह्य लगानीमा बढोत्तरी हुने विश्वास समेत व्यक्त गरे । 

चालु आर्थिक बर्षमा ५ दशमलव ९ प्रतिशतले आर्थिक बृद्धि हुने अनुमानको प्रशंसा गर्दैै राष्ट्र बैंकले कृषि, उद्योग, सेवा क्षेत्रको बृद्धिदरले थप हौसला प्रदान गरेको जनाएको छ । आन्तरिक तथा बाह्य कारणले मुद्रास्फीति बेलाबखत केही दवाबमा पर्ने गरेको र फागुनसम्म मुद्रास्फीति दर ६ प्रतिशतमा पुगेपनि चैतमा भने ५ दशमलव ३ प्रतिशतमा झरेको बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार यसै अवधिमा चालु खर्च ४ सय ६५ अर्ब ३० करोड र पूँजीगत खर्च १ सय १४ अर्ब १६ करोड भएको छ । २०७५ बैशाख ७ गतेसम्ममा नेपाल सरकारको राजस्व परिचालन २० दशमलव ८ प्रतिशतले बृद्धि भई ५ सय १५ अर्ब २ करोड पुगेको छ भने राष्ट्र बैंकसँग २ सय ७७ अर्ब ४७ करोड रहेको छ । यस्तै चालु आर्थिक बर्षको पहिलो आठ महिनामा कुल बस्तु निर्यात १० दशमलव ८ प्रतिशतले भएको छ भने कुल बस्तु आयात २२.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार मुलुकलाई ७ सय १३ अर्ब ९३ करोड व्यापार घाटा भएको छ ।