नौ घण्टा लागि सीमा पुल खुल्यो २२ सय बढीको आवत जावत 

३ बर्ष अघि

२0७७ मंसिर ८ सोमबार

नौ घण्टा लागि सीमा पुल खुल्यो २२ सय बढीको आवत जावत 

दृष्टिकोण समाचार मंसिर ८ दार्चुला । नौ घण्टा लागि  नेपाल–भारत जोड्ने खलंगा झोलुगें पुलबाट २२ सय ४ जनाले आवतजावत गरेका छन् । व्यासको सितापुल नाका खोलेर मङ्सिर ३ गते भारतीय बाटो हुँदै धारचुला झरेका ६० परिवार तिङ्करबासीलाई खलंगा ल्याउनका लागि सोमबार बिहान ८ देखि बेलुकी ५ बजेसम्म खलंगा सीमा पुल खुलेको हो । सीमा पुलबाट १४४ जना पुरुष र ६० महिला गरी २०४ जना कुञ्चा अर्थात तिकंरबाट सदरमुकाम बसाई सरेका छन् । पुल खुलेको मौकामा दुई हजार स्थानीयले समेत आवतजावत गरेको पाइएको छ । १३ सय पुरुष र सात सय महिला गरी दुई हजार जना अन्य मानिसहरुले समेत पुलमा आवतजावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । सोमबार खलंगा पुलमा कुल दुई हजार दुई सय चार जनाले आवतजावत गरेको उहाँले बताउनुभयो । व्यासबासीले स्वदेशकै बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्न दिनका लागि भारतीय प्रशासनलाई अनुरोध गरेका थिए । दुबै देशका स्थानीय प्रशासनको सहमतिमा अन्तर्राष्ट्रिय सीमा नाका खुलाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । भारतको बाटो भएर सदरमुकाम आएका सौका समुदायलाई खलंगा पुग्न छ दिन लागेको छ । व्यासकै छाङरु गाउँका एक सय पाँच परिवार मङ्सिर १९ गते सितापुल नाका भएर भारतकै बाटो हुदै खलंगा आउने तयारीमा छन् । छाङरुबासीका लागि मङ्सिर २४ गते खलंगा सीमा पुल खुला गर्ने दुबै देशबिच सहमति भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । व्यासीहरुलाई स्वदेश भित्र्याउनका लागि खुलेको पुलमा सयौँ स्थानीयहरुले समेत भिडभाड हुने गरी आवतजावत गरेका छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बन्द गरिएको पुलमा एकैपटक सयौँको भिड लाग्दा कोरोना संक्रमणको जोखिम झनै बढेको स्थानीयहरुले गुनासो गरेका छन् ।