मालिकार्जुन गाउँपालिकामा पनि कोभिड –१९  अस्पतालको उद्घाटन

३ बर्ष अघि

२0७७ मंसिर ८ सोमबार

मालिकार्जुन गाउँपालिकामा पनि कोभिड –१९  अस्पतालको उद्घाटन

 दृष्टिकोण समाचार मंसिर ८ दार्चुला  । दार्चुला जिल्लाको  मालिकार्जुन गाउँपालिकाले पनि आइतबार कोभिड–१९ अस्थायी अस्पताल उद्घाटन गरिएको छ । जिल्लाकै तेस्रो स्थानीय तहको रुपमा मालिकार्जुन गाउँपालिकाले कोभिड अस्पताल उद्घाटन गरेको हो । गाउँपालिकाको कार्यालय रहेकै क्षेत्र वडा नम्बर ८ स्थित स्वास्थ्य चौकी शंकरपुर पस्तीमा कोभिड अस्पताल उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताउनु भयो । कोरोना महामारीलाई मध्यनजर गरी नेपाल सरकारले अस्पताल नरहेका स्थानीय तहमा कोभिड अस्थायी अस्पतालका लागि बजेट नै विनियोजन गरेको थियो । अस्पताल नरहेका स्थानीय तहलाई बजेट उपलब्ध गराएर कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो ।सोही अनुसार दार्चुला जिल्लाका अस्पताल नरहेका स्थानीय तहले पनि कोभिड अस्पताल उद्घाटन गर्न लागेका हुन् । सोही कार्यक्रम अन्तरगत मालिकार्जुन गाउँपालिकाले पनि एक औपचारिक कार्यक्रमकाबीच कोभिड अस्पतालको उद्घाटन गरेको हो ।वडा नम्बर ८ का वडाध्यक्ष एवं स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष  पदमराज पन्तको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । गाउँपालिकाले यसअघि नै मेडिकल अधिकृत डाक्टरको व्यवस्थापन गरिसकेको थियो । मेडिकल अधिकृत डाक्टर निराजन बोहरालाई गाउँपालिकाले यसअघि नै स्वागत गरिसकेको थियो ।अस्थायी कोभिड अस्पतालका लागि आबश्यक स्टाफ नर्स लगायत जनशक्तिको विज्ञापन खोलिने गाउँपालिको अध्यक्ष धामीले बताउनु भयो । ‘डाक्टरको व्यवस्थापन हामीले गरिसकेका छौँ, बाँकी जनशक्तिका लागि केही दिनमा विज्ञापन खोल्छौँ’ अध्यक्ष धामीले भन्नु भयो । मालिकार्जुन गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन भएसंगै कोभिड अस्पताल स्थापना गर्न स्थानीय तहको संख्या तीन पुगेको छ । सुरुमा सबैभन्दा पहिले मार्मा गाउँपालिकाले डाक्टरको व्यवस्थापन गरि कोभिड अस्थायी अस्पताल उद्घाटन गरेको थियो । डाक्टर तथा अन्य जनशक्तिको समेत व्यवस्थापन गरिएको छ । यो संगै जिल्लाका स्थानीय तहमा कोभिड अस्पताल सञ्चालन भएका छन् ।