ब्याँसी सौका समुदाय यो वर्ष पनि भारतकै बाटो भएर खलंगा झर्दै 

३ बर्ष अघि

२0७७ मंसिर ७ आईतवार

ब्याँसी सौका समुदाय यो वर्ष पनि भारतकै बाटो भएर खलंगा झर्दै 

दृष्टिकोण समाचार मंसिर ७ दार्चुला । ब्याँस गाउँपालिका वडा नम्बर १ को तिंकर र छाङरुका ब्याँसी सौका समुदायहरु खलंगा बसाई सर्न थालेका छन । केही दिनदेखि छाङरु, तिंकरमा हिमपात सुरु भएसंगै ब्याँसी सौका समुदायहरु खलंगा कुञ्चा बसाई सर्न लागेका हुन ।बैशाख–जेठ महिनामा खलंगा क्षेत्रबाट वस्तुभाउ सहित ब्याँस बसाई सरेका ब्याँसी सौका समुदाय बुधबारदेखि खलंगा बसाई सर्न थालेका हुन । ब्याँस क्षेत्रमा अहिले अत्यधिक चिसो हुनुका साथै हिमपात सुरु भएको स्थानीय गोगेश बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन अघि छाङरुमा हिमपात भएको छ । विगतमा पनि छाङरु र तिंकरका ब्याँसी सौका समुदाय ६ महिना ब्याँस क्षेत्र र ६ महिना सदरमुकाम खलंगा बस्दै आएका छन ।त्रीदेशीय सीमा क्षेत्रमा रहेका ब्याँस गाउँपालिका वडा नम्बर १ का ब्याँसी सौका समुदायहरु यो वर्ष पनि भारतकै बाटो भएर खलंगा झर्न लागेको वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले बताउनु भयो । ‘यो वर्ष पनि स्वदेशकै बाटो भएर खलंगा बसाई सर्न सकिने अवस्था रहेन, सितापुलको नाका खोलेर भारतको बाटो हुदैँ मसिर ३ गते बाट खलंगा झर्न थालेका छौँ’ वडाध्यक्ष बोहराले भन्नु भयो ।नेपाली सेनाले घाँटिबगर क्षेत्रमा झण्डै साढे पाँच सय मिटर घोरेटो बाटो निर्माण गरेपनि झै विभिन्न क्षेत्रमा बाटो अप्ठेरो हुदाँ ब्याँसी सौका समुदाय भारतकै बाटो भएर खलंगा झर्न बाध्य भएका छन । घाँटिबगर क्षेत्रमा साढे पाँच सय मिटर घोरेटो बाटो नेपाली निर्माण गरेपनि तम्पाकु क्षेत्रमा अझै बाटो सुधार गर्न नसकिएकाले भारतकै बाटो प्रयोग गर्नु परेको वडाध्यक्ष बोहराको भनाई छ । विगतदेखि नै स्वदेशकै बाटो भएर सदरमुकामसम्म आवत जावत गर्न सकिने अवस्था नरहेपछि ब्याँसी सौका समुदायहरु भारतकै बाटो भएर खलंगासम्म आवात जावत् गर्दै आएका थिए । यो वर्ष नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटो बाहेक अन्य क्षेत्रमा वर्षेनी खर्च गरिएपनि बाटो सुधार नभएको स्थानीयहरुले नै गुनासो गरेका छन । यसरी स्वदेशमा घोरेटो बाटो समेत नहुदाँ ब्याँसी सौका समुदायहरुले यो वर्ष पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएका हुन ।