साउन ११ डडेल्धुरा
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–४, डुङ्गरी र अजयमेरु गाउँपालिका–५ को देवल दिव्यपुर जोड्न सेरागडमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकीदेखिको अविरल वर्षाले भत्केको हो ।
डिभिजन सडक कार्यालय कुलपाते, दीपायलले पुल निर्माणका लागि ०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा।लिसँग ठेक्का सम्झौता भएको थियो । भ्याटसहित कूल ५ करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो । ०७४ भदौ २४ गते ठेक्का अवधि सकिएपछि ०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।
वर्षातको समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधीन पुल भत्किएको डिभिजन सडक कार्यालय, डोटीका इन्जिनियर महानन्द जोशीले बताए । देशभरिमै ख्यातिप्राप्त निर्माण कम्पनी भएकाले केही क्षति भएपनि पुल निर्माणमा बाधा नपुग्ने उनले दावी गरेका छन् । बिकोई बिल्र्डस प्रालिका सञ्चालक होमनाथ कोइराला सडक विभागकै पूर्व इन्जिनियर हुन् ।
सानोतिनो पानी परिरहेकाले क्षति नपुग्ने अनुमान गरेर काम गरिरहेका थियौं, निर्माण कम्पनीका साइड इन्चार्ज इन्जिनियर तीर्थ गुरुङले भने एक्कासि ठूलो पानी परेपछि बाढीका कारण निर्माणाधीन पुल भत्किएको हो । गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी वर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले पुल भत्किएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । निर्माण सामग्रीको गुणस्तरबारे आफूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । निर्माण कम्पनीले भने झण्डै एक करोड बराबर क्षति भए पनि अगामी मंसिरसम्म पुल निर्माण कार्य सक्नेगरी पुलको पुनर्निर्माण गरिने जनाएको छ । निर्माणाधीन पुलको क्षतिको विवरण भने तयार भएको छैन ४० मिटर लम्बाई र ११ मिटर चौडा पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।