मालिकार्जुन शिखर जात्रा साउन १० गते

६ बर्ष अघि

२0७५ श्रावण ७ सोमबार

मालिकार्जुन शिखर जात्रा साउन १० गते


दृष्टिकोण समाचार, साउन ७ दार्चुला
दार्चुला जिल्लाको प्रमुख धार्मिक तिर्थस्थल श्री शैल्यशिखर मालिकार्जुन जात्रा साउन १० गते हुने भएको छ । चन्द्रग्रहणका कारण केहि अन्यैलता देखिएको भन्दै मालिकार्जुन विकास समितिले साउन १० मै शिखर जात्रा हुने बताएको छ ।
साउन ११ गते राती चन्द्रगहण रहेको छ ग्रहण लागेको तीनदिन सम्म पुजापाठ नहुने केहिको मान्यता रहेको छ तर यस बर्ष शिखर जात्रा साउन १० गते हुने मालिकार्जुन विकास समितिका सचिव जनकसिह धामीले बताउनु भयो । 
हरेक बर्ष असार शुक्ल चतुर्दशी तीथी र कार्तिक शुक्ल त्रयोदशी तीथीमा शिखर जात्रा हुने गर्दछ । पक्ष र तीथिमा शिखर जात्रा हुँदैआएकोले चन्द्र ग्रहणको कुनै पनि असर नपर्ने निस्कर्ष निकालिएको सचिव धामीले बताउनुभयो ।
मालिकार्जुन गाँउपालिका र शैल्यशिखर नगरपालिकाको क्षेत्रमा रहेको शैल्यशिखरमा ठुलो श्रद्धाका साथ जात्रा हुने गर्दछ । शिखर जात्रामा दार्चुलाका साथै सात नम्बर प्रदेश तथा भारतको उत्तराखण्ड राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन । मालिकार्जुन गाउपालिकाको वडा नम्बर ३ मड स्थित भण्डारिघरदेखि सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हँुदै शिखर क्षेत्रमा पुग्ने गर्दछ ।
शिखर जात्रामा सहभागी भई पूजापाठ गर्नाले आफुले मागेको बरदान प्राप्त हुने जनविश्वास रहेको छ । व्रतबन्ध गरेका पुरुष र विवाह गरी दुबधागो लगाएका महिलाले मत्रै शिखर जात्रामा सहभागी हुने मान्यता रहिआएको छ । साउन १० गतेको शिखर जात्राको आवश्यक तयारी भईरहेको मालिकार्जुन विकास समितिले जनाएको छ । दार्चुला जिल्लाको प्रमुख धार्मिकस्थल रहेको मालिकार्जुन क्षेत्रको धार्मिक तथा पर्यतकीय विकासका लागि सरकारले समेत केहि बर्षदेखि बजेट र कार्यक्रम सञ्चालन गर्दै आएको छ ।