‘सरकारले तत्काल एकल विन्दु सेवा लागु गर्नुपर्छ’

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

‘सरकारले तत्काल एकल विन्दु सेवा लागु गर्नुपर्छ’

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले लघु तथा साना उद्योगको लागि सरकारले उदार नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका छन् । 

उपाध्यक्ष कटुवालले भने,‘अरु देशको उत्पादनभन्दा हाम्रो देशका उत्पादनहरु धेरै राम्रा छन्, यसको पहिचान गर्नु आजको आवश्यकता हो ।’ उद्यमीहरुलाई अब प्रवविधिमैत्री बनाउनुपर्ने बताउँदै उनले आगामी दिनमा महासंघले सो कुरामा समेत विशेष पहल गर्ने विश्वास दिलाए । 

उनले सरकारले तत्काल एकल विन्दु सेवा लागु गर्नुपर्ने बताए । 

हिजोबाट आगामी बैशाख १८ गतेसम्मको लागि भृकुटिमण्डपमा सुरु भएको नेपाल १४ औं अन्तर्रा्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्देश्यबारेमा समेत उनले विशेष जानकारी गराए । महोत्सवले नेपालमा उत्पादन भएका स्वदेशी वस्तुहरुको बजारीकरणको लागि काम गर्ने पनि उनको भनाई थियो । त्यस्तै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घरेलु वस्तुहरुको बारेमा जानकारी महोत्सवमार्फत हुने आफूहरुले विश्वास लिएको उपाध्यक्ष कटुवालले जनाए । 

उक्त मेलामा करिब तीन लाखले अवलोकन गर्ने र दश करोडको व्यापार हुने आफूहरुको विश्वास रहेको कटुवालले बताए । त्यस्तै उनले लघु, घरेलु तथा साना उद्योगलाई बेवास्ता गरेर मुलुक अघि बढ्न नसक्ने ठोकुवा गरे । 

त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सल्लाहकार राजन शर्माले जिल्लास्तरमा उत्पादन भएका वस्तुहरुलाई व्यापक प्रचारप्रसार तथा बजारीकरण गर्न यो महोत्सवले विशेष योगदान पुर्याउने विश्वास दिलाए । 

कानूनी रुपबाट सरकारले घरेल तथा साना उद्योगलाई सहजीकरण गर्नुपर्ने उनको सुझाव थियो । साना तथा मझौला व्यवसायी तथा उद्यमीहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भने,‘घरेलु उद्योग देशको मेरुदण्ड हो, कच्चा पदार्थहरु महँगो छ, सरकारले यसको आयातमा विशेष छुटको व्यवस्था गर्नुपर्छ।’