काठमाण्डौ कार्तिक १२ । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् ।प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, वाग्मतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् । हिजो ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ७ सय २५ नमुना परीक्षण गर्दा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । कर्णाली र सुदूरपश्चिममा हिजो सङ्क्रमित भेटिएका छैनन् । दशैँका बेला स्वाब परीक्षण कम भएकाले नयाँ संक्रमित पनि थोरै भेटिएका छन् ।शुक्रबार सप्तमीका दिन १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये चार हजार चार सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै शनिबार अष्टमीका दिन १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण हुँदा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएको थियो ।आइतबार नवमीका दिन १२ हजार तीन सय ११ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । सोमबार विजयादशमीको दिन पाँच हजार छ जनाको मात्रै पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये एक हजार सात सय ४१ जनामा कोरोना पुष्टि भएको थियो ।नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ४ सय पुगेको छ । ४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । झापा, मोरङ, सुनसरी, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५ सय बढी सक्रिय सङ्क्रमित छन् ।मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय ७६ पुगेको छ । उज्यालो बाट