१ सय २८ क्वाटर मदिरा बरामद,

३ बर्ष अघि

२0७७ कार्तिक ११ मंगलवार

१ सय २८ क्वाटर मदिरा बरामद,

 

दृष्टिकोण समाचार कार्तिक ११ दार्चुला । दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर २ रातामाटा स्थित तीन वटा घर तथा पशलहरुबाट मंगलबार विहान १ सय २८ क्वाटर मदिरा बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले पशलहरुको निरीक्षण गर्दा १ सय २८ क्वाटर मदिरा बरामद गरेर नष्ट गरेको ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज एबं प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराले जानकारी दिनुभयो ।

लेकम–२ का स्थानीय बिष्णु जोशीको पशलबाट ५२ क्वाटर, नन्दराज जोशीको घरबाट २६ क्वाटर र नन्दराज जोशीको घरबाट ५० क्वाटर गरि कुल १ सय २८ क्वाटर मदिरा बरामद गरि स्थानीय शंकरदत्त जोशी र तुलादत्त जोशीको रहोबरमा नष्ट गरिएको प्रहरी नायब निरीक्षक पुजाराले बताउनुभयो ।

विद्यालयको झण्डै १०० मिटर नजिकै मदिराको कारोबार हुने गरेको र मदिरा सेवन गरेर गाउँमा होहल्ला तथा झैझगडा हुने गरेको सूचनाका आधारमा ईप्रका रिठाचौपाताबाट ईन्चार्ज पुजाराको नेतृत्वमा खटिएको प्रहरी टोलीले मदिरा बरामद गर्नुको साथै बेचबिखनमा संलग्न तीनै जनालाई जरिवाना तिराइएको छ । अबदेखि मदिरा बेचबिखन नगर्ने शर्तमा कानुन अनुसार जनहि २ हजार ५सय  का दरले कुल ७ हजार ५सय  रुपैँया जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

मदिरा निषेधित लेकम गाउँपालिका क्षेत्रमा अबैध रुपमा ओसारपसार गरेर मदिराको कारोवार हुने गरेको छ । गाउँपालिकाका ६ वटै वडामा मदिराको अबैध कारोबार हुने गरेको स्थानीय हरिप्रसाद जोशीले बताउनुभयो । मदिरा नियन्त्रणका लागि स्थानीय संगै प्रहरी, प्रशासन र गाउँपालिका लगायत सरोकारवाला सबै जागरुक बन्नुपर्ने उहाँको भनाई छ ।