दार्चुलामा दुध अभाव, डेरीहरुलाई बजारको माग धान्न समस्या

६ बर्ष अघि

२0७५ श्रावण ५ शनिबार

दार्चुलामा दुध अभाव, डेरीहरुलाई बजारको माग धान्न समस्या

सुलोचना महता, साउन ४ दार्चुला । सबैतीर हरियाली भएसँगै पशु आहारा बढ्ने र यो सिजनमा दुध उत्पादन गर्ने किसानका लागि उत्तम समय हो ।  तर दार्चुलाको अवस्था फरक छ । बजारमा दुधको जहिले पनि अभाव हुन्छ । महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्रमा हाल आधा दर्जन डेरी सञ्चालनमा छन् ।  दार्चुला जिल्लाको खलंगा  बजारमा रहेका डेरीहरुमा दुध, दही, महि, साथै दुधबाट बनेका विभिन्न परिकारहरुको माग बढी भएता पनि उपभोक्ताहरुलाई प्रयाप्त मात्रामा दुध तथा दुग्धजन्य पदार्थ उपलब्ध गराउन नसकिएको डेरी सञ्चालकहरुले बताएका छन् । 
दार्चुला जिल्लामा हाल दार्चुला डेरी, गौमाता डेरी, जिवन डेरी, लालिगुँरास डेरी, शाही डेरी गरी आधा दर्जन डेरीहरु सञ्चालनमा छन् । उक्त डेरीहरुबाट दैनिक एकहजार बढी लिटरसम्म दुध विक्री वितरण हुने गरेको छ । यो बाहेक किसान आफैले पनि अन्य विभिन्न पशलहरुमा दुध र दही बेच्ने गरेका छन् । अझै बजारको माग धान्न सकिएको छैन् ।
दार्चुला डेरी


२०७१ सालबाट औपचारिक रुपमा स्थापना भएको दार्चुला डेरी अहिले दत्तु, खलंगा र बंगाबगडमा गरी तीन शाखाबाट सञ्चालनमा रहेको छ । दैनिक २ सय लिटर दुध खपत गर्ने गरेको डेरी सञ्चालक प्रकाशसिह सामन्तले बताए । दार्चुला डेरीमा दत्तु, धाप, श्रीबगड लगायत गाउँबाट दुध संकलन हुन्छ । नेपाल डेरी एशोसिएसनका केन्द्रीय सदस्य समेत रहेका प्रकाश सामन्तले बजारमा शुद्ध दुध पु¥याउन ल्याक्टोमिटर प्रयोग गर्ने गरेको बताए । साथै अझै पनि किसानले शुद्ध दुध उत्पादन गर्न सकेको अवस्थामा उनीहरुलाई शुद्ध दुध उत्पादनको लागि तालिमको आवस्यकता रहेको बताए । डेरीमा दुधको अभाव रहेको र उपभोताहरु कहिले काँही खालि हात फर्कनु पर्नेे बाध्यता रहेको सामन्तको भनाई छ । 
श्री गौमाता गाईपालन तथा डेरी उद्योगको 


वि.स.२०७१ सालदेखि जिल्लामा श्री गौमाता गाईपालन तथा डेरी उद्योग पनि सञ्चालनमा रहेको छ । उक्त डेरीमा प्रतिदिन ३० लिटर जति दुध आफैले उत्पादन गर्ने गरेको र २ सय लिटर दुध विभिन्न ठाउँबाट संकलन गर्ने गरेको डेरी सञ्चालक दलजितसिह महताले जानकारी दिनुभयो । दुधबाट बनेका विभिन्न परिकारहरु मिठाई, आईक्रिम आदि बनाउने गरेता पनि उपभोक्ताको माग अनुसार दुधको माग धान्न नसकिएको महताको भनाई छ । किसानहरुले दुध उत्पादन बढाउन सकेमा दुधको बजार फस्टाउँदै जाने उहाँको भनाई छ ।  
शाही डेरी


२०७२ सालमा स्थापना भएको शाही डेरीले पनि आफै दुध उत्पादन गर्नुका साथै किसानहरुबाट पनि दुध संकलन गर्ने गरेको छ ।  आफ्नो उत्पादन दैनिक ३५ लिटर र बाहिरबाट १५ लिटर दुध संकलन हुने गरेको सञ्चालक बहादुर शाहीले बताउनु भयो । आफ्नै दुध भएकाले ल्याकटोमिटरको प्रयोग गरिदैन तर बाहिरबाट संकलन गरिने दुध परिक्षण गर्ने गरेको शाहीको भनाई छ । 
दुधको माग रहे पनि आफ्नो डेरीबाट ग्राहकको माग पुर्ती गर्न नसकिएको यथार्थता शाहीले बताए ।  बढी मात्रामा दुध संकलन गर्न चाहे पनि दार्चुलामा दुध उत्पादन गर्ने किसान नै नभएको उनको बुझाई छ । 
जिवन डेरी एन्ड ग्रोसरीज


२०७१ सालदेखि सञ्चालनमा आएको दार्चुलाको अर्को डेरी जिवन डेरी एन्ड ग्रोसरीजको अवस्था पनि अरु डेरी जस्तै रहेको छ । प्रतिदिन १ सय ५० लिटरसम्म दुध संकलन गर्ने गरेपनि माग अनुसार उपभोक्ताहरुलाई दुध उपलब्ध गर्न नसकिएको डेरी सञ्चालक शेरबहादुर बमले बताए । 
लालीगुरासँ डेरी


महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगडमा रहेको लालिगुराँस डेरी २०७३ सालमा स्थापना भएको हो । उक्त डेरीका सञ्चालक दुर्गा धामीले आफुले १० लिटर दुध उत्पादन गर्ने  र बाहिरबाट २० लिटर सम्म दुध संकलन गर्ने गरेको बताईन । किसानले ल्याउने दुधमा ल्याकटोमिटर प्रयोग गर्दा २० प्रतिशत मात्र शुद्ध दुध बजारमा पुग्ने धामीले बताइन् ।
भारतबाट दुध आयात 


नेपाली बजारमा आपुर्ती कम भएपछि भारतीय बजार धारचुलाबाट पनि नेपालमा दुध आउने गरेको छ । भारतीय बजारमा पाइने प्याकेटको दुध अमुल गोल्ड, आँचल, मोती लगायत पाउडर दुध पनि नेपाल भित्रीने गरेको छ । नेपाली बजारमा होटेल व्यवसायिहरु तथा घरमा प्रयोग गर्नका लागि पनि भारतीय बजारबाट दुध ल्याउने गरेको व्यापारीहरुले बताएका छन् । डेरीहरुमा समेत दुध अभाव हुने गरेपछि भारतबाट दुधु आउने गरेको हो । 
मूल्यमा एकरुपता छैन


दार्चुलामा प्रतिलिटर दुधको मूल्य ७० देखि ८० रुपैँया रहेको छ । डेरीहरुले ६० रुपैँया प्रतिलिटर दुध किन्ने र ८० रुपैँया सम्म बेच्ने गरेका छन् । अझै गाउँबाट आउने किसानहरुले सिधै ग्राहकसम्म दुध पु¥याउँदा ५० रुपैँया देखि ७० रुयैँयासम्म पनि प्रतिलिटर दुध बेच्ने गरेका छन् । मूल्यमा एकरुपता नहुँदा ग्राहकहरु अलमलमा पर्ने गरेका छन् । त्यस्तै भारतीय बजारमा पाईने अमुल गोल्ड भारु ४० रुयँैया प्रतिलिटर, आँचल ६० रुपैँया प्रतिलिटर रहेको छ । 
जिल्लामा दुध उत्पादनको तथ्याङ्क छैन
दार्चुला जिल्लामा बार्षिक रुपमा कति दुध उत्पादन हुन्छ यसको एकीन तथ्याङ्क छैन् । अहिलेको नयाँ संरचनाका आधारमा जिल्ला पशु सेवा कार्यालय नरहने र सम्बन्धित स्थानीय तहमा पशु सेवा शाखा स्थापना भएपनि नयाँ तथ्याङ्क संकलन भई नसकेको पशु सेवासँग सम्बन्धित कर्मचारीहरुले बताएका छन् । सात नम्बरका लागि पाँच वटा डिभिजन पशु सेवा कार्यालय प्रस्तावित छन् भने दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमा पशु सेवा शाखा स्थापना गरिएका छन् । 
दुध उत्पादनमा घट्नुको कारण भैसी निर्यात


दार्चुला जिल्लामा दुध उत्पादनमा कमि आउनुको मूख्य कारण भैसी नपाल्नु तथा भएका भैसीहरु पनि मासुका लागि जिल्ला बाहिर विक्री गर्नु रहेको छ । खास गरेर दार्चुला जिल्ला सडक सञ्जालमा जोडिएको एक दशक यता जिल्लाबाट तराईका जिल्लाहरुमा भैसी निर्यात हुँदै आएका छन् ।
व्याउने भैसीको सरदर मूल्य ५० हजारसम्म रहेको र सबैले भैसी किन्न नसक्नु, बाँझो भैसी पनि २० देखी २५ हजार सम्म विक्री हुन थालेपछि भैसी पालन घटेको छ । यो बाहेक जिल्लामा पशुपालनको क्षेत्रमा किसानहरुका लागि नयाँ प्रविधि तथा उन्नत जातको पशु नस्ल नहुँनु, भएका ठाउँमा पनि प्राविधिकको अभाव, पशु आहाराको कमि, गरिबी, युवाको विदेश पलायन लगायतका विभिन्न कारणहरु रहेका छन् ।
स्थानीय तहहरुले कृषि र पशुपालनमा नीति बदल्दै
मुलुक संघिय संरचनामा गइसकेपछि पछिल्लो समय स्थानीय तहहरुले कृषि र पशुपालनको क्षेत्रमा विभिन्न किसिमका नीतिहरु पारित गरेका छन् । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टका अनुसार कृषि र पशुपालन व्यवसायको विकासका लागि बजेट छुटाएको, र दुध उत्पादन बढाउनका लागि आफुले  सक्दो प्रयास गर्ने साथै स्वरोजगार कोष खडा गरी रोजगारीमुलक तालिम सञ्चालन गर्ने बताए । जिल्लाको मालिकार्जुन गाउँपालिले भैसी निर्यातलाई निरुत्साहित गर्न पशु पालनको क्षेत्रमा अनुदान दिने नीति लिएको छ । त्यस्तै जिल्लाका अन्य स्थानीय तहहरुले पनि कृषि र पशु पालनको क्षेत्रमा विभिन्न नीतिहरु त बनाएका छन् आगामी दिनमा तीनको कार्यान्वयन र उपलब्धी भने हेर्न बाँकी छ ।