सीमापुल खुलेको तीन दिनमा ९ सय ३४ जनाले गरे आवतजावत, 

३ बर्ष अघि

२0७७ कार्तिक ८ शनिबार

सीमापुल खुलेको तीन दिनमा ९ सय ३४ जनाले गरे आवतजावत, 

दृष्टिकोण समाचार कार्तिक ८ दार्चुला ।  दार्चुलाका दुई वटा सीमापुल खुलेको तीन दिनमा ९ सय ३४ जनाले आवतजावत गरेका छन । भारतीय पेन्सनधारी नेपाली र भारतीय बैंकमा कारोबार रहेका नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै दुबै देशका स्थानीय प्रशासनविच ५ गतेदेखि ७ गतेसम्म दार्चुलाको खलंगा र जौलजिवी नाका खोल्ने सहमित भएको थियो । दुबै देशका प्रशासनको समन्वयपछि बुधबारबाट शुक्रबारसम्म प्रतेक दिन विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म दार्चुलाको खलंगा र जौलजिवी नाका खुल्ला गरिएका थिए । सीमापुल खुलेको पहिलो दिन खलंगा सीमानाकाबाट एक सय ६८ जना महिला र एक सय आठ जना पुरुषले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । त्यस्तै खलंगा सीमानाकाबाटै विहिबार ८० महिला र एक सय २३ जना पुरुष गरि दुई सय तीन जना र शुक्रबार ८५ महिला र ६३ जना पुरुष गरि एक सय ४८ जनाले आवत जावत गरेको चन्दले बताउनुभयो । तीन दिनको अवधिमा खलंगा सीमानाका बाट तीन सय ३३ महिला र दुई सय ९४ पुरुष गरि छ सय २७ जनाले आवत जावत गरेका छन् । त्यस्तै जौलजिवी सीमानाका खुलेको पहिलो दिन बुधबार ४१ महिला र १७ पुरुष गरि ५८ जनाले आवत जावत गरेका छन् । यस्तै विहिबार ५६ महिला र ८५ पुरुष गरि एक सय ४१ जना र शुक्रबार ३२ महिला र ७६ पुरुष गरि एक सय आठ जनाले आवत जावत गरेका छन् । तीन दिनको अवधिमा जौलजिवी सिमानाकाबाट एक सय २९ महिला र एक सय ७८ जना पुरुषले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका दुबै नाकाबाट चार सय ६२ महिला र चार सय ७२ पुरुष गरि नौ सय ३४ जना भारतीय पेन्सनर, भारतीय बैंकमा खातारहेका नेपाली नागरिक र केहि स्थानीयहरुले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बुधबार जौलजिवी नाकामा समयमै पुल नखुल्दा नेपालीहरु भारतमै अलपत्र परेका थिए । शुक्रबार खलंगा नाका निर्धारित समय भन्दा अगाडी नै भारतीय पक्षले बन्द गरीदिदा केहि नेपाली भारतमै रोकिएका थिए भने भारत फर्किन लागेकाहरु बिच पुलमै अड्किएका थिए । दुबै देशको स्थानीय प्रशासनबिचको समन्वयपछि शुक्रबार बेलुकी ५ बजेतिर पुल खुलाएर फसेका दुबै देशका नागरिकहरुको उद्धार गरिएको छ ।