स्कुल जान दैनिक जोखिम मोल्नु पर्छ, पीडा बुझीदिने कसले ?

६ बर्ष अघि

२0७५ श्रावण ३ बिहीबार

स्कुल जान दैनिक जोखिम मोल्नु पर्छ, पीडा बुझीदिने कसले ?

दृष्टीकोण समाचार, साउन ३ दार्चुला । भौगोलिक विकटता रहेको दार्चुला जिल्लामा विभिन्न समस्याहरु रहेका छन् । तर व्याँस गाउँपालिका वडा नम्बर ३ मा झनै विकराल समस्या रहेको छ । दैनिक जोखिम मोलेर खोला तर्दै स्कुल पढ्न जाँदाको पीडा कस्तो होला । यो केवल भोग्नेलाई मात्रै थाहा छ । व्याँस गाउँपालिका वडा नम्बर ३ सिना  गाउँको छेउमा रहेको खोलापारीको विद्यालय सिद्धमावि सिनामा सय भन्दा बढी विद्यार्थीहरु दैनिक जोखिम मोलेर पढ्न जान्छन् । सिनामा बग्ने घट्टेखोलामा पुल त छ । तर पुल तरेर विद्यालय जान झण्डै आधा घण्टा लाग्छ भने खोला तरेर विद्यालय जाँदा १०÷१५ मिनेटमा विद्यालयमा पुग्न सकिने विद्यालयका शिक्षक पदमराज भट्टले बताउनु भयो । कक्षा १ देखि ५ सम्मको विद्यालय गाउँमै रहेको र कक्षा ६ देखि १० सम्मको विद्यालय खोला पारी भएका कारण बर्षातको समयमा विद्यार्थी तथा शिक्षकहरुलाई समस्या हुने गरेको छ । खोला तर्दा विद्यार्थीहरुका जुत्ता चप्पल बग्ने गरेका छन् । पुलबाटै विद्यार्थीहरुलाई तर्न भनेर विद्यालयले निर्देशन गरेपनि विद्यार्थीहरु आफुखुसी खोला तर्ने गरेका छन् । विद्यालय नजिकै अस्थायी पुल सम्म पनि हुनेहो भने बर्षातको बेला केही सहजता हुने शिक्षक भट्टको भनाई छ ।   तर नेपालको शिक्षा नीति अनुसार माद्यमिक तह सम्मको शिक्षा निःशुल्क भनीएता पनि त्यो केवल कागजमा मात्र सिमित छ । निःशुल्क शिक्षा विद्यालयमा मात्र नभई शिक्षासँग सरोकार राख्ने अन्य भौतिक पूर्वाधारहरुमा पनि सरकारले लगानी गर्नु पर्ने अहिलेको आवस्यकता रहेको जानकारहरुको भनाई छ ।