पेन्सनरका निहुँमा खोलिएको सीमा नाकामा ओहोरदोहोर गर्नेहरुलाई मौका 

३ बर्ष अघि

२0७७ कार्तिक ६ बिहीबार

पेन्सनरका निहुँमा खोलिएको सीमा नाकामा ओहोरदोहोर गर्नेहरुलाई मौका 

दृष्टिकोण समाचार कार्तिक ६ दार्चुला । पेन्सनरका लागि भन्दै खोलिएका सीमा नाकामा अन्य व्यक्तिहरुले ओहोर दोहोर गर्ने मौका पाएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सैनिकबाट सेवा निवृत्त पेन्सनर नेपाली नागरिकहरुका लागि भन्दै बुधबारदेखि जिल्ला सदरमुकाम खलंगा पुलघाँट र जौलजीवि नाका खोलेको छ । मुख्यगरी पेन्सनरहरु र अलपत्रमा परेकाहरुलाई आवत् जावत् गर्न दिने गरि नाका खोलिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो । ‘पेन्सनर र अलपत्रमा परेका दुबै देशका नागरिकहरुलाई पनि आवत् जावत् गर्न दिने भन्ने हो, अन्य व्यक्तिहरुका लागि त होइन’ उहाँले भन्नु भयो । बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म खोलिएको सीमा नाकाबाट पेन्सनर र अलपत्रमा परेका नागरिकहरु मात्र नभई अन्य व्यक्तिहरुले पनि सीमा नाकाबाट ओहोर दोहोर गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पेन्सनरका लागि भन्दै खोलिएको सीमा नाका हुदै भारतबाट थुप्रै सामग्री समेत भित्रिएको छ । जिल्ला प्रशासन कार्यालयले पेन्सनर र अलपत्रमा परेकाहरुका लागि भन्दै खोलिएको नाका हुदै निर्वाध रुपमा धमाधम भारतबाट सामग्री ल्याउने कार्य भइरहेको छ भने अन्य व्यक्तिहरु पनि भारत गएर फर्किने कार्य गरिरहेका छन् । तर प्रमुख जिल्ला अधिकारी पोखरेलले आफू कहाँ त्यस्तो जानकारी नआएको बताएका छन् ।
आज पनि सीमा नाका खोलिएको छ भने भोली पनि सीमा नाका खोलिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।