कारागारका ३५ जनामा कोरोना संक्रमण

३ बर्ष अघि

२0७७ कार्तिक ५ बुधबार

कारागारका ३५ जनामा कोरोना संक्रमण

दृष्टिकोण समाचार कार्तिक ५ दार्चुला ।  जिल्ला कारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । दार्चुला कारागारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ३५ जनामा बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको कारागार कार्यालय दार्चुलाका प्रमुख मानबहादुर खडायतले जानकारी दिनुभयो । कारागारभित्र ठाउँ अभावमा संक्रमितलाई अलग्गै कोठामा राख्न सकिने अवस्था छैन् । दार्चुला कारागारको २५ जना पुरुष र १५ जना महिला गरि ४० जना कैदिबन्दी राख्ने क्षमता हो । तर अहिले क्षमताभन्दा २० जना बढी कैदीबन्दी राखिएका छन् । हाल दार्चुला कारागारमा १२ थुनुवा र ४८ जना कैदी गरि ६० जना कैदीबन्दी रहेका छन् जसमा ५७ जना पुरुष र ३ जना महिला कैदी रहेको कारागार प्रमुख खडायतले बताउनुभयो ।बुधबार संक्रमण पुष्टि हुनेमा ३० जना कैदीबन्दी र ५ जना कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी छन् । फरार अभियुक्तको सूचिमा रहेर भारतबाट फर्किएका कैदीलाई प्रहरीले पक्राउ गरि अदालतबाट कारागार चलान गरेको थियो । उनिहरुबाट नै कारागारभित्र कोरोनाले प्रबेश पाएको हुनसक्ने आशंका गरिएको छ ।क्षमताभन्दा बढी कैदीबन्दीको भिडभाड भएकाले कारागार भित्र कोरोनाको जोखिम झन बढेको खडायतले बताउनुभयो । यसअघि कारागारमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई जना मध्ये एक जना मानसिक र एक जना हर्नियासम्बन्धी रोगी रहेकाले थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।