अन्ततः डा. केसीलाई बल प्रयाेग गरी काठमाडौं लगियाे

६ बर्ष अघि

२0७५ श्रावण ३ बिहीबार

अन्ततः  डा. केसीलाई बल प्रयाेग गरी  काठमाडौं लगियाे

दृष्टीकाेण सामाचार, साउन ३ जुम्ला ।  जुम्लामा २० दिनदेखि आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारले अन्तत: बल प्रयोग गरी काठमाडौं लगेकाे छ । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लास्थित नेपाली सेनाकाे ब्यारेकमा अवतरण गरेकाे हेलिकप्टरमा राखेर काठमाडौं लगिएको हो । 'हामी डा. केसीलाई लिएर जुम्लाबाट काठमाडौंका लागि उड्यौं,' स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लाेहनीले फोनमा भने। उक्त हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अान्तरिक मामिला मन्त्री नरेश भण्डारीसहित शिक्षा मन्त्रालयका सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लाेहनी र प्रहरीको टोली सवार छ।

सेना स्रोतका अनुसार जुम्लाबाट उडेको हेलिकप्टर २५ मिनेटमा सुर्खेत पुगेर अवतरण गर्ने छ। त्यहाँ रिफ्युलिङ गरेपछि मात्रै काठमाडौंका लागि उड्ने छ। सुर्खेतबाट काठमाडौं अाउन हेलिकप्टरलाई घटीमा एक घण्टा पाँच मिनेट लाग्ने बताइएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच डा. केसीलाई अस्पतालबाट बाहिर निकाल्न लाग्दा स्थानीय महिलाहरुले अवरोध गरेपछि प्रहरीले पुन: लाठी चार्ज गरेको थियो। अस्पताल भित्र र बाहिर प्रहरीले गरेको लाठी चार्ज पछि जुम्लाको अवस्था पुन: तनाव ग्रस्त बनेको छ। सेनाकाे ब्यारेक बाहिर अहिले स्थानीयहरु जम्मा भएर नाराबाजी गरिरहेका छन्।