छोटी भन्सार कार्यालय दार्चुलाबाट बार्षिक ३३ लाख राजश्व संकलन

६ बर्ष अघि

२0७५ श्रावण २ बुधबार

छोटी भन्सार कार्यालय दार्चुलाबाट बार्षिक ३३ लाख राजश्व संकलन

ललितसिह सामन्त, साउन २ दार्चुला । छोटी भन्सार कार्यालय दार्चुलाले गत आर्थिक बर्ष २०७४÷७५ को एक बर्षमा ३३ लाख २० हजार ३८ रुपैँया राजश्व संकलन गरेको छ । मूख्य भन्सार कार्यालय झुलाघाँट अन्तरगत रहेको दार्चुला छोटी भन्सार कार्यालयबाट विभिन्न आयात निर्यात बस्तुहरुबाट उक्त मात्रामा भन्सारबाफत राजश्व संकलन गरिएको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नरसिह बडालले जानकारी दिनुभयो । छोटी भन्सार कार्यालयले गत आर्थिक बर्षमा सबभन्दा बढी यहि असाढ महिनामा ४ लाख ५४ हजार ७ सय ९७ रुपैँया राजश्व संकलन गरेको भने सबभन्दा कम २०७३ पुस महिनामा १ लाख ७१ हजार ३ सय २ रुपँैया राजश्व संकलन गरेको छ । त्यसैगरी २०७४ साउन महिनामा १ लाख ९० हजार ७१ रुपैँया, भाद्र महिनामा १ लाख ८८ हजार ९ सय ८४ रुपैँया, असोजमा २ लाख ४४ हजार ७ सय ७३ रुपैँया, कार्तिकमा २ लाख २४ हजार १ सय ६१ रुपैँया, मंसिरमा १ लाख ७९ हजार ३ सय ३ रुपैँया राजश्व संकलन गरेको छ । 
त्यस्तै २०७४ माघ महिनामा ३ लाख १८ हजार ६ सय ७५ रुपँैया, फागुनमा ३ लाख १४ हजार ७ सय २ रुपैँया र चैत्रमा  २ लाख ९२ हजार ८ सय ७० रुपैँया राजश्व संकलन गरेको छ । त्यसैगरी २०७५ बैशाख महिनामा ३ लाख ९२ हजार ३ सय ४३ रुपैँया र जेठ महिनामा ३ लाख ४८ हजार ५७ रुपैँया राजश्व संकलन गरेको छोटी भन्सार कार्यालयले जनाएको छ । मूख्यगरी निर्माण सामाग्री सरिया सिमेन्ट, टायल लगायत भाँडाकुडा र दैनिक खाद्यान्नका बस्तुहरुबाट उक्त भन्सार रकम असुल गरिएको हो । नेपाल भारत सीमा क्षेत्रमा रहेको दार्चुला छोटी भन्सार कार्यालयबाट निर्यात भन्दा पनि आयाततित बस्तुबाटै बढी राजश्व संकलन हुने गरेको कार्यालयका प्रमुख बडालले बताउनु भयो ।  
भन्सार कार्यालय नहुँदा लाखौ राजश्व गुम्दै 
दार्चुला जिल्लामा मात्रै पाँच वटा छोटी भन्सार कार्यालयहरु रहेकोमा हाल जिल्ला सदरमुकाम खंलगामा मात्रै भन्सार कार्यालय सञ्चालनमा रहेको छ । दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा रहेको सितापुल, दत्तु, र जौलजिबीमा हाल भन्सार कार्यालयहरु छैनन् । र पछिल्लो समय व्याँस गाउँपालिका वडा नम्बर ५ तिग्रममा नेपाल भारत जोड्ने सीमा नाका थप भएको छ । नेपालमा चलेको दशबर्षे गृहयुद्धका बेला ती भन्सार कार्यालयहरु विस्थापीत भएका थिए । हालसम्म पनि भन्सार कार्यालयहरु स्थापित हुन नसक्दा दार्चुला जिल्लाबाट लाखौँ रुपैँया राजश्व गुमी रहेको छ । दार्चुला जिल्लामा सञ्चालित सबै भन्सार कार्यालयहरु बैतडीको झुलाघाँट भन्सार कार्यालयबाट सञ्चालनमा रहेका छन् । यसका बारेमा भन्सार कार्यालय झुलाघाँटलाई बुझ्दा विभागबाटै कुनै परिपत्र नभएका कारण हालसम्म भन्सार कार्यालय पुर्नस्थापित हुन नसकेको बताईएको छ ।