ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघ्यो, ज्यान गुमाउनेको संख्या झण्डै डेढ लाख

३ बर्ष अघि

२0७७ आश्विन २२ बिहीबार

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघ्यो, ज्यान गुमाउनेको संख्या झण्डै डेढ लाख

काठमाण्डौ असोज २२ । ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको हो ।त्यहाँ गएको २४ घण्टामा मात्रै साढे ३१ हजारमा कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ । सङ्क्रमित धेरै भएका देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा भए पनि ज्यान गुमाउनेको सूचीमा दोस्रो स्थानमा छ । ब्राजिलमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या झण्डै डेढ लाख पुगेको छ ।त्यहाँ अहिलेसम्म १ लाख ४८ हजारभन्दा धेरैको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमितको हिसाबले ब्राजिलभन्दा अघि संयुक्त राज्य अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छन् । अमेरिकामा अहिलेसम्म ७७ लाख ७२ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १६ हजारको ज्यान गएको छ । ४९ लाख ७४ हजार निको भएका छन् । यस्तै ६८ लाख ३२ हजारमा कोरोना पुष्टि भएको भारतमा एक लाख ५ हजारको ज्यान गएको छ ।