रक्तसञ्चार सेवा केन्द्र दार्चुलामा अभावै अभाव

६ बर्ष अघि

२0७५ असार ३0 शनिबार

रक्तसञ्चार सेवा केन्द्र दार्चुलामा अभावै अभाव

सुलोचना महता, असार, ३० दार्चुला । र्दाचुला जिल्लामा दुई बर्ष पहिले स्थापना गरिएको रक्तसञ्चार केन्द्रमा आवस्यक उपकरणहरुको अभाव रहेको छ । नेपाल रेडक्रस सोसाईटी, जिल्ला अस्पताल दार्चुलाको सयुक्त लगानीमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रमा रगत जाँच गर्ने उपकरण, रगत सञ्चित गर्ने उपकरण लगायत फर्निचर समेत अभाव रहेको रक्त सञ्चारकेन्द्र दार्चुलाले जनाएको छ ।  जिल्ला अस्पतालमा रगत दान गर्ने व्यक्तिको अभाव त छ तर कसैले रगत दान गरिहालेमा पनि त्यसको व्यवस्थापनमा समस्या हुने गरेको केशवप्रसाद शाहले जानकारी दिनुभयो ।  रक्त सञ्चार केन्द्रमा हाल १ सय २० पोका रगत जम्मा गर्ने क्षमताको मेसिन रहेपनि राख्ने ठाउँ अभाव रहेको रक्त सञ्चार केन्द्रका अर्का सञ्चालक ल्याब टेक्नीसियन दिपकराज विष्टले बताए । 


हालसम्म १ सय ६ जनाले रगतदान गरेका छन् जसमध्ये  ४९ जना सर्वसाधारण र ५७ जना सुरक्षकर्मीहरुले रगत दान गरेका छन् । जिल्ला अस्पतालमा आउने बिरामीहरुलाई आवस्यक परेको रगत सम्भव भएसम्म दिने गरिएको र प्रति पोका रगतको नौ सय रुपैँया रहेको छ । साथै अशक्त, एकल महिलाहरुलाई निःशुल्क रगत दिईने गरेको  दिपकराज विष्टले जानकारी दिनु भयो ।  हाल रक्त सञ्चारकेन्द्रमा दुई जना कर्मचारी रहेका छन् । केन्द्रमा ‘ए’ पोजेटिब देखि ‘ओ’ नेगेटिभ ग्रुपको रगत दान गर्ने व्यक्तिहरु रहेका भएपनि दान गरेको रगत जम्मा गर्ने ठाउँ अभावका कारण आवश्यक परेको बेला मात्रै फोनबाट रागतदाताहरु बोलाईने गरेको विष्टको भनाई छ ।

नेपाल रेडक्रस सोसाईटी दार्चुलाका सभापती गोपाल सिंह महराले जनचेतनाको अभावका कारण जनताहरुले रगत दान गर्नेको कमि रहेको बताए ।  दार्चुलामा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न  रक्तसञ्चार विभागमा पहल गरिरहेको रेडक्रस सभापती महारको भनाई छ ।