ब्याँसको छांगरु जोड्ने साढे पाँचसय मिटर घोरेटो बाटो निर्माण सम्पन्न 

३ बर्ष अघि

२0७७ आश्विन ११ आईतवार

ब्याँसको छांगरु जोड्ने साढे पाँचसय मिटर घोरेटो बाटो निर्माण सम्पन्न 


 दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ र २ जोड्ने साढे पाँचसय मिटर लम्बाई रहेको घोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ । व्याँसको छांगरु क्षेत्रमा ओहोर—दोहोर गर्न असहज रहेको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले बाटो निर्माण गरेको हो ।
जेठ ९ गतेदेखि निर्माण कार्य सुरु गरेको नेपाली सेनाले असोज ५ गते बाटो निर्माण गरिसकेको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रम देव थापाले बताउनु भयो । कडा चट्टानी भू–भाग रहेकाले अन्य निकाय भन्दा नेपाली सेना मार्फत बाटो निर्माण गरिनु पर्ने माग भएपछि बाटो निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । 
ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरु, तिंकर जोड्ने उक्त बाटो निर्माण सम्पन्न भएसंगै ब्याँसी सौका समुदायले स्वदेशकै बाटो भएर सदरमुकाम खलंगासम्म आवत् जावत् गर्न सक्ने भएका छन् ।
अब घाँटी बगर भन्दा पाँच किलोमिटर तल तम्बाकु क्षेत्रमा पनि कडा चट्टान रहेको छ । सो क्षेत्रमा पनि नेपाली सेनाले नै बाटो निर्माण गर्ने गरी रक्षा मन्त्रालयले नेपाली सेनालाई आदेश दिईसकेको छ । बाटो निर्माण भएपछि व्याँसका स्थानीयलाई खलंगा आउन जान सहज भएको भन्दै स्थानीय खुसी भएका छन् ।