दृष्टिकोण समाचार असोज ६ दार्चुला । घरेलु तथा साना उद्योग विकास समिति दार्चुलामा आर्थिक वर्ष २०७६÷०७७ मा सानो लगानीमा आधारित ३ सय ६३ ओटा उद्योग दर्ता गरिएका छन । गत आर्थिक वर्षमा उत्पादनमूलक तर्फ ७, सेवामूलक तर्फ ७८, कृषि तथा वनजन्य तर्फ १ सय १०, पर्यटन सम्बन्धी ४५ वटा उद्योग दर्ता गरिएको घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाले जनाएको छ । विभिन्न प्रकारका तालिम लिएर आत्मनिर्भर बन्नेको सँख्या बढ्दै गएपछि उद्योग दर्ता गराउनेको सँख्या पनि बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयमा साना उद्योग अर्थात ३ करोड भन्दा कम स्थिर पूँजी भएका उद्योग मात्र दर्ता हुने गरेका छन । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगा कुमारी मगरले जिल्लामा लगानीको वातावरण बन्दै गएपछि उद्योग दर्ता गर्ने व्यवसायीहरू थपिँदै गएको बताउनु भयो । हाल सम्म जिल्लाभरी १ सय १६ जना महिला उद्यमी बनेका छन भने १ सय ७६ जना पुरुष उद्यमी बनेको घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको तथ्याङ्क छ । यस्तै हाल सम्म जिल्लाभरी ३ सय २१ जना महिला तथा ४ सय १० जना पुरुषले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।