संविधान दिवसकै दिन अधिकार खोसिएको कुरा, कस्तो विडम्बना 

४ बर्ष अघि

२0७७ आश्विन ३ शनिबार

संविधान दिवसकै दिन अधिकार खोसिएको कुरा, कस्तो विडम्बना 


दृष्टिकोण समाचार, असोज ३ दार्चुला । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आज भन्दा ५ बर्ष पहिले संविधान जारी गरिएको थियो । यसै संविधानको मर्म अनुसार अहिले मुलुकमा तीन तहको सरकार छ । जनताको अधिकार गाउँघरबाटै पाउने गरी निर्माण गरिएको स्थानीय सरकारका जनप्रतिनीधिहरुले आजकै दिन पत्रकार सम्मेलन गरी अभिकार खोसिएको कुरा गर्दा असाध्यै दुःख लाग्यो । व्याँस गाउँपालिका वडा नम्बर ३ सिनाका वडा अध्यक्ष उपेन्द्रसिह धामीले पत्रकार सम्मेलनको सुरुमै गाउँपालिकाले वडा पालिकाको अधिकार खोसिएको कुरा गरेपछि यो बारेमा गहिरिएर अध्ययन गर्दै जाँदा जनप्रतिनीधिले नै अधिकार खोसिएका कुरा गर्दा आम सर्वसाधारणहरुले अधिकारको कुरा गर्नु व्यर्थ जस्तै लाग्यो ।
व्याँस गाउँपालिकाले २०७५ साल बैशाख २० गते उपभाेक्ता समिति गठन कार्यविधी जारी गरी लागु गरेको छ । उक्त कार्यविधि अनुसार गाउँपालिका भित्र योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्दा गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य वा कार्यपालिकाले तोकेको व्यक्तिको रहोबरमा उपभोक्ता समिति गठन गर्नु पर्नेछ भन्ने नियम बनाइएको छ । 
तर स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्पष्ट रुपमा वडापालिका तथा वडा अध्यक्षको काम कर्तव्य र अधिकारका बारेमा उल्लेख गरेको भएपनि विगत बर्षहरुबाटै व्याँस गाउँपालिकामा योजना उपभोक्ता समिति गठन प्रक्रियाको गलत प्रयोग भईरहेको पाईएको छ ।
खास गरी व्याँस गाउँपालिका वडा नम्बर १, ३, र ४ मा विगत बर्षहरुबाटै वडा पालिकाबाट विनियोजन गरिएका योजनाहरुमा पनि गाउँपालिकाले हस्तक्षेप गरी आफ्नो प्रतिनिधी वा आफुले तोकेको व्यक्ति मार्फत उपभोक्ता समिति गठन गरिएको तीनवटै वडा अध्यक्षहरुले बताएका छन् ।
यो क्रम यो बर्ष पनि दोहोरिएपछि अहिले यो विषयले गाउँपालिकामा तालाबन्दी समेत भएको छ । वडा नम्बर ३ सिनामा यो आर्थिक बर्षका लागि गाउँपालिकाबाट २० लाख बजेट विनियोजन गरिएको त्यसबाट वडा पालिकाले विभिन्न योजना निर्माण गरेको थियो । 
पछि गाउँपालिकाले २०७७ भाद्र ३ गते गाउँकार्यपालिकाको बैठकले निर्णय गरी पाँच वटा योजनामा विनियोजन गरिएको साढे चार लाख रुपैँया रकमान्तर गरेको छ । वडा कार्यपालिकाका सहजकर्ता पारश्रमिक एकलाख ५० हजार, तुषारपानी घोरेटो बाटो निर्माण १ लाख, स्वयंम् सेविकाहरुको पारश्रमिक ५० हजार, कषि सहजकर्ताको पारश्रमिक १ लाख र टोलसुधार महिला कृषक करेशाबारी निर्माण कार्यक्रमको ५० हजार रुपैँयाको योजनामा विनियोजित रकम गाउँकार्यपालिकाले रकमान्तर गरेको छ ।
त्यसैगरी वडा नम्बर एक मा पनि वडा अध्यक्षको जानकारी विना नै सात वटा योजनाहरुमा गाउँपालिकाले आफु निकट मान्छे र आमभेला नगराईकनै आफ्ना मान्छे रहनेगरी उपभोक्ता समिति गठन गरिएको वडा नम्बर एकका वडा अध्यक्ष अशोकसिह बोहराले जानकारी दिनुभयो । 
त्यसैगरी वडा नम्बर ४ मा पनि वडा अध्यक्षको सिफारिस र जानकारी विना नै गाउँपालिकाबाट बजेट विनियोजन गरिएको आरोप वडा नम्बर चारका वड अध्यक्ष सगराम विष्टले बताउनु भयाे । शनिबार जिल्ला सदरमुकाम खल‌ंगामा तीनै जना अध्यक्षहरुले पत्रकार सम्मेलन गरी अधिकार खाेसिएकाे सार्वजनिक गरेका छन् । यो विषयमा गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीलाई बुझ्दा गाउँपालिकाबाट विनियोजित योजनाहरुको हकमा मात्रै गाउँपालिकाले तोकेको वा गाउँकार्यपालिका सदस्यको रहोबरमा उपभोक्त समिति गठन गरिएको र वडापालिकाबाट विनियोजित बजेटमा गाउँपालिकाले कुनै हस्तक्षेप नगरेको बताउनु भयो ।
आरोपका लागि मात्रै यस्तो कुरा गरिएको हो, गाउँपालिकाले जारी गरेको उपभोक्त समिति गठन कार्यविधिका आधारमा सार्वजनिक सूचना जारी गरी उपभोक्त समिति गठन गरिएको अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिनुभयो ।