व्याँसको राजनीति सतहमाः प्राकृतिक विपत्तीले निम्त्यायो समस्या, पहिरो पीडित ओझेलमा

४ बर्ष अघि

२0७७ आश्विन ३ शनिबार

व्याँसको राजनीति सतहमाः प्राकृतिक विपत्तीले निम्त्यायो समस्या, पहिरो पीडित ओझेलमा

कृष्ण धामी, असोज ३ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिकाको राजनीति फेरी सतहमा पुगेको छ । व्याँस गाउँपालिकामा नेपाली काँग्रेसको बहुमतीय सरकार रहेको अवस्थामा नेकपाबाट प्रतिनिधित्व गर्ने तीन वडाका वडा अध्यक्षहरु गाउँपालिकाबाट पीडित रहेको भन्दै गाउँपालिकामा विगत ९ दिन देखि तालाबन्दी गरिएको छ । गत भाद्र २६ गते व्याँस गाउँपालिकामा नेकपा निकट वडाअध्यक्ष तथा नेकपाका नेताहरुले गाउँपालिकामा तालाबन्दी गरेपछि व्याँस गाउँपालिकामा अहिले राजनीति दाउपेच बढेको छ । २६ गते लगाएको तालाबन्दी २८ गते प्रहरीको उपस्थितिमा नेपाली काँग्रेस नीकट समुहले तोडेपछि पुनः भाद्र २९ गते फेरी तालाबन्दी गरीएपछि गाउँपालिकाका सबै पदाधिकारीहरु जिल्ला केन्द्रीत भएका छन् ।
पहिरो पीडितबाट समस्याको सिर्जना
गएको साउन २० गते व्याँस गाउँपालिका वडा नम्बर ३ तुसरपानीमा पहिरो गएपछि सो क्षेत्रका २९ परिवार विस्थापीति भई नजिकैको गाउँ गल्थामा बसेका छन् । पहिरो पीडित परिवारहरुले राहत पाउनु त परै जाओस् उनीहरुले तत्काल बस्ने खाने व्यवस्था समेत नभएपछि गाउँपालिकाले खरछानो मुक्त कार्यक्रमका लागि ल्याएका जस्ता पाता लगेपछि यो विवादको सिर्जना भएको हो ।
व्याँस गाउँपालिकाले भाद्र ३ गते गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरी विस्थापीति परिवारलाई दिएको जस्तापाता गाउँपालिकाको खरछाना मुक्त कार्यक्रमको भएको र सो जस्तापाता सोधभर्ना गर्न वडाको ४ लाख ५० हजार रुपैँया कटौती गरी रकमान्तर गर्ने निर्णय गरेपछि समस्या सतहमा पुगेको हो ।
गाउँपालिकाबाट वडा नम्बर ३ मा २० लाख रुपैँया बजेट विनियोजन गरिएको थियो । कटौती गरेको ४ लाख ५० हजार रुपँैयाबाट पाँचवटा योजना बन्दा भएपछि गाउँपालिकामा तालाबन्दी गर्न स्थानीयहरु आएको वडा नम्बर तीनका वडा अध्यक्ष उपेन्द्रसिह धामीले बताउनु भयो ।
खलंगामा तीन वडा अध्यक्षको पत्रकार सम्मेलन
शनीबार व्याँस गाउँपालिका वडा नम्बर १ ३ र ४ का वडा अध्यक्षहरुले खलंगामा पत्रकार सम्मेलन गरेका छन् । गाउँपालिकामा तालाबन्दी गरिएपछि भाद्र २८ गते नेपाली काँग्रेस निकटले ताला तोडे । पुन नेकपा निकट नेता कार्यकर्ताहरुले २९ गते फेरी तालाबन्दी गरे । सो दिन व्याँस गाउँपालिका उपाध्यक्ष हेमा जोशी कार्यकक्षबाट बाहिर आउन नमाने पछि अनुरोध गरी बल्ल तल्ल बाहिर आएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । तर उपाध्यक्ष माथि हातपात गर्न खोजेको आरोपमा स्वयं उपाध्यक्षले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेपछि यो विषयले अझ ठुलो रुप लियो । 
दुबै पक्षको निवेदन प्रहरीमा 
घटनाले उग्र रुप लिन थालेपछि दुबै पक्षले प्रहरीमा निवेदन दर्ता गराएका छन् । गाउँपालिका उपाध्यक्षले नारद भट्टको नाम र वडा नम्बर ३ का वडा सदस्यले दिपक खातीका नाममा अभद्र व्यवहार गरेको र हातपात गरेको भन्ने मुद्दा दिएको जिल्ला प्रहरी प्रमुख पदम बहादुर विष्टले जानकारी दिनुभयो ।
प्रहरीमा उपाध्यक्षले विहिबार र वडा सदस्यले शुक्रबार निवेदन दर्ता गराएका हुन् । निवेदनको आधारमा प्रहरीले मुचुल्का तयार पारेको र भोली आईतबार म्याद थपका लागि मुद्दा दर्ता भई अनुसन्धानमा जाने डिएसपी विष्टले जानकारी दिनुभयो ।
शुक्रबार दुबै पक्षलाई बोलाएर छलफल गराउन खोजेपनि कुनै पक्ष पनि नआएको डिएसपी विष्टको भनाई छ ।
व्याँसको राजनीतिक घटना दोश्रो पटक
यो भन्दा पहिले २०७५ साल पुस माग महिनामा गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले वडा नम्बर ४ का वडा अध्यक्ष सग्रामसिह विष्टमाथी हातपात गरेपछि राजनीतिक रुपमा व्याँसमा रडाको मच्चिएको थियो । पछि राजनीतिक पार्र्टी बसेर दुबै पक्षले सहमती गरेका थिए । दुई बर्ष पछि पुनः व्याँस गाउँपालिकामा राजनीतिक मुद्दाले सहती रुप देखाएको छ ।
नौ दिन देखि गाउँपालिकाको काम ठप्प
भाद्र २६ गते गाउँपालिकामा तालाबन्दी गरिएपछि गाउँपालिकाको दैनिक कामकाज बन्द रहेको छ । गाउँपालिकाले गर्नु पर्ने दैनिक कामकाजहरु प्रभावित भएपछि कर्मचारीहरुको दैनिक हाजिर, दर्ता चलानी, उपभोक्ता समिति गठन तथा सम्झौता काम प्रभावित भएको व्याँस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनुभयो । 
तुसरपानीका पहिरो पीडित ओझेलमा
तुसरपानीका २९ परिवार पहिरो पीडित भएपछि जस्तापाताको विषयले निम्त्याएको राजनीतिक झगडाका कारण पहिरो पीडित ओझेलमा परेका छन् । उनीहरुको पीडालाई स्थानीय सरकारको झगडाले ओझेलमा पारीदिएको छ । गाउँबस्तीमा पहिरो आउँदा अरुले सरकारबाट राहत पाउँथे, तर हाम्रो बेजोक कसले सुनिदिने एक पीडितले गुनासो गरे । 
अहिले खेतीपाती पनि त्यसै छ, पहिरो केही रोकीएको छ । एकहप्ता पहिले मात्रै पुनः त्यसै ठाउँमा पहिरो पञ्छाउँदै पीडाका साथ गल्थाबाट पीडितहरु तुसरपानीमा सरेका छन् ।