हुनैनाथ मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

४ बर्ष अघि

२0७७ आश्विन २ शुक्रबार

हुनैनाथ मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

दृष्टिकोण समाचार, असोज २ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथ औतालेकमा रहेको हुनैनाथ मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिन लागेको छ । मालिकार्जुन गाउँपालिकाले संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयसँग साझेदारी गर्न पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमका लागि मन्त्रलयमा प्रस्ताव पेश गरिएको छ । हुनैनाथ पर्यटन विकास समाजले हुनैनाथ मन्दिर क्षेत्रमा रानीपातल बगैँचा निर्माण सहित हुनैनाथ क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि गाउँपालिकालाई अनुरोध गरेको हुनैनाथ पर्यटन विकास समाजका अध्यक्ष मदनसिह धामीले जानकारी दिनुभयो । हुनैनाथ मन्दिर दार्चुला जिल्लाको लेकम क्षेत्रमा शक्तिपीठका रुपमा चिनिन्छ । सो क्षेत्रको विकास गर्नका लागि मन्दिर क्षेत्रमा पर्यटनसँग सम्बन्धित सम्पुर्ण पुर्वाधार तथा वातावरण मैत्री रानीपातल बगैँचा निर्माणको गुरुयोजना लगत्तै निर्माण गरिने संस्थाका कार्यकारी निर्देशक कृष्ण सिह धामीले जानकारी दिनुभयो । नेपाल सरकारले देशभरीका सयवटा पर्यटकीय गन्तव्य मध्ये दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई घोषणा गरेको छ । मालिकार्जुन राष्ट्रकै सातौँधामको रुपमा परिचित रहेको छ । मालिकार्जुनसँगै रहेका गाउँपालिका भित्रका अन्य पर्यटकीय क्षेत्रहरुको चरणबद्ध रुपमा विकास गर्ने गरी गाउँपालिकाले सबै निकायसँग सहकार्य गरिरहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिकाले चालु आर्थिक बर्षमै कार्यान्वयन गर्ने गरी हुनैनाथसँगै शंकरपुर क्षेत्रमा रहेको शिवालयमा पनि पार्क निर्माणको लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।