आर्थिक कारोबार अझै जिल्ला केन्द्रित, कारोबार गर्नेहरुको बैंकमा भिड

६ बर्ष अघि

२0७५ असार २९ शुक्रबार

आर्थिक कारोबार अझै जिल्ला केन्द्रित, कारोबार गर्नेहरुको बैंकमा भिड

दृष्टीकोण समाचार, असार २९ दार्चुला । आर्थिक बर्ष समाप्तीसँगै आर्थिक कारोबार गर्नेहरुको बैंकमा भिड लाग्ने गरेको छ । चालु आर्थिक बर्ष समापनको समय असार मसान्तमा जिल्लाभरीका सरकारी चेक साट्नेहरुको बैंकमा भिड बढेको हो । दार्चुला जिल्ला सदरमुकाममा रहेको एकमात्रै राष्ट्रिय बाणिज्य बैंकको शाखामा विभिन्न विकास निर्माणका योजनाहरु, कर्मचारीहरुको तलब भत्ता लगायत आर्थिक कारोबार गर्नेहरुको भिड लागेपछि बैंकमा यो समय असहज स्थिति आएको हो । बैंकमा कारोबार गर्दा हुने भिडलाई देखेर बैंक खुल्नु पूर्व नै मानिसहरु जम्मा भईसकेका हुन्छन् । 


दार्चुला जिल्लाका विभिन्न नौ वटै स्थानीय तहहरुको कारोबार अझै जिल्ला केन्द्रीत भएपछि यो स्थिति आएको हो । स्थानीय तहहरुले चेक सम्बन्धित क्षेत्रबाटै काट्ने गरेको भएपनि चेक साट्नका लागि जिल्ला नै आउनु परेपछि मर्का परेको कतिपय सेवाग्राहीहरुले बताएका छन् ।स्थानीय तहहरुलाई स्वायत्त अधिकार प्रत्यायोजन भइसकेपनि एकबर्ष वित्दा समेत आर्थिक कारोबार जिल्ला केन्द्रीत हुनुले गाउँमा सिंहदरबार पुगेको महशुस जनताहरुले अझै नगरेको मालिकार्जुन गाउँपालिका ४ का गणेशसिह धामीले बताउनु भयो ।


दार्चुलाको अपिहिमाल गाउँपालिकाबाट कारोबार गर्न दार्चुला सदरमुकाम आउन पैदल चार दिन र गाडीमा २ दिन लाग्ने गरेको छ । सो क्षेत्रबाट आर्थिक कारोबार गर्न जिल्ला आउँदा कुनै सानो त्रुटी भएपनि फेरी सच्याउन गाउँपालिकामै जानु पर्ने समस्या सिर्जना हुँदा स्थानीयले झन समस्या खेप्नु परेको छ । बर्षातको समयमा पानीका कारण बाटोघाँटो नहुँदा पनि जिल्ला आउनेहरुले अर्को समस्या खप्नु परेको छ । स्थानीय तहहरुमा बैंक खुले पनि अझै कारोबार सुरु नभएपछि आर्थिक कारोबार जिल्ला केन्द्रित बनेको हो ।