नेपाली सेनाले निर्माण गरिरहेको घाँटीबगर क्षेत्रको घोरेटो बाटोका काम अन्तिम चरणमा, छिटै उद्घाटन गर्ने तयारी

४ बर्ष अघि

२0७७ भाद्र ३१ बुधबार

नेपाली सेनाले निर्माण गरिरहेको घाँटीबगर क्षेत्रको घोरेटो बाटोका काम अन्तिम चरणमा, छिटै उद्घाटन गर्ने तयारी

दृष्टिकोण समाचार भदौ ३१ दार्चुला ।  नेपाली सेनाले व्याँस गाउँपालिकाको घाँटीबगर क्षेत्रमा निर्माण गरिरहेको घोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत जेठ ९ गतेदेखि सुरु घोरेटो बाटो निर्माण कार्यमा हाल ५ सय १५ मिटर बाटो निर्माण गरिएको छ । कुल ५ सय ५० मिटर लम्बाइ रहेको उक्त बाटो निर्माणको बाँकी ३५ मिटर क्षेत्रमा पनि ट्रयाक खोली सकेको र फिनिसिङको काम भइरहेको नेपाली सेनाले जनाएको छ । व्याँस गाउँपालिका वडा नम्बर एक छाङरु र तिङ्कर जोड्ने उक्त बाटो आगामी असोज महिनाको पहिलो हप्तामै उद्घाटन गर्ने गरी काम भई रहेको छ । आगामी कार्तिक महिनामा छाङरु र तिङ्करका स्थानीय खलंगामा कुञ्चा सर्ने छन् त्यतिञ्जेल तम्बाकु क्षेत्रमा रहेको झण्डै ५० मिटर बाटो पनि निर्माण गरी सक्ने नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपती विक्रमदेब थापाले जानकारी दिनुभयो । 
नेपाल सरकार मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको बैठकले घाँटीबगर देखि  तिङ्कर भञ्ज्याङसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।