कोरोना संक्रमण शुन्य भएपछि अपि हिमालमा विद्यालय खोल्ने तयारी 

४ बर्ष अघि

२0७७ भाद्र ३0 मंगलवार

कोरोना संक्रमण शुन्य भएपछि अपि हिमालमा विद्यालय खोल्ने तयारी 

दृष्टिकोण समाचार भदौ ३० दार्चुला । कोरोना संक्रमण मुक्त रहेको अपिहिमाल गाउँपालिकाले आगामी असोज पहिलो साताबाट विद्यालय खोल्ने तयारी गरिरहेको छ । चैत ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई कोरोनाको संक्रमण नदेखिएकोले विद्यालय खोल्ने तयारी भइरहेको अपिहिमाल गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।अपिहिमाल गाउँपालिकामा कोरोना संक्रमण पोजेटिभ केस अहिलेसम्म देखिएको छैन । अहिलेसम्म गाउँपालिका कोरोनामुक्त रहेको कारण आगामी असोज ५ गतेबाट विद्यालय सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख विरेन्द्रसिह साउँदले बताउनुभयो । नयाँ शैक्षिक सत्र शुरु भएको पाँच महिना वितिसकेको छ । विद्यार्थीको पढाई केहि हुन सकेको छैन उहाँले भन्नुभयो, अहिलेकै अवस्थामा विद्यालय खोल्दा समस्या नआउने देखिएपछि विद्यालय सुचारु गर्ने तयारी भएको छ ।गाउँपालिकामा रहेका विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर विद्यालयमा पठनपाठन गर्ने गरी विद्यालय खोल्ने तयारी भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । गाउँपालिका भरी  १ हजार ९ सय ८१ जना विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले विद्यालय सञ्चालनमा लिएपछि छिमेकी गाउँपालिकाका सिमा नाकाहरुमा कडाई गर्ने अध्यक्ष मन्यालले बताउनु भयो ।