रामसिंह धामी भदौ २६ दार्चुला । सैलुन ब्यवसायी मासुक सल्मानीको भारत उत्तरप्रदेशको शौजानपुरस्थित खुदारगञ्जमा एउटा सानो कटेरो छ। उनको घरायसी आर्थिक अवस्था निकै कमजोर थियो। त्यसैले कामको खोजीमा एक बर्षअघि महाकाली तरेर दार्चुलाको खलंगा आइपुगे। जानेको त्यही कपाल काट्ने काम। उनले खलंगामै सैलुन पसल खोले। त्यही पसलमा काम गर्दागर्दै अहिले कोरोना संक्रमित भएका छन्। ‘पेट पाल्नका लागि काम गर्नुपर्यो। सरकारले तोकेका मापदण्डहरुको पूर्णपालना गरी काम गरिरहेको थिए। तर अकस्मात म पनि संक्रमित भए,’ उनले भने, ‘तर अहिले समाजको छि, छि र दूर–दूरको ब्यवहार देख्दा दुःख लागिरहेको छ। छोराछोरी र पत्नीसहित पाँच जनाको परिवार छ सल्मानीको। ‘झण्डै ५ महिना कोठामा बसेर खुला ठाँउमा कपाल काटेर बिहान–बेलुकाको खानाको जोहो गरियो। पसलको भाडा तिर्न निकै सकस हुन थालेपछि स्वास्थ्यका मापदण्ड अपनाएर सैलुन पसल सञ्चालन गरे,’ उनले भने, ‘कपाल काट्ने र दारी फाल्ने काममै कुन मान्छेबाट मलाई पनि कोरोना संक्रमण भयो पत्तै पाईएन। कोरोना परीक्षणका लागि स्वाव दिए यता करिव ३÷४ सय व्यक्तिको सम्पर्कमा आफु आएको हुनसक्ने उनले बताए। ‘मेरो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गछु,’ सल्मानीले भने, ‘मलाई बिना कुनै लक्षण कोरोना पोजेटिभ देखियो।
त्यसैले सबै जनाको परीक्षण हुनु अनिवार्य छ। २४ भदौंको बिहान सल्मानी सधैझै ग्राहकको कपाल काट्दै थिए। कतिजना त कपाल काट्न लाइनमै थिए। त्यही बेला उनले आफू कोरोना संक्रमण भएको जानकारी पाए। ‘मेरो मनमा त चोट पुग्यो नै तर मेरा छिमेकीहरुको म प्रति शंका उपशंका उब्जिन थाल्यो। अहिले म बस्ने घर सिल गरिएको छ,’ उनले भने, ‘समाजले मलाई मात्रै नभएर मेरो परिवारका सदस्यहरुमा पनि कोरोना संक्रमण छ भनेर हेप्न थालेका छन्। परिवारका सदस्यलाई देख्दा उनीहरु भाग्ने गरेका छन्। समाजले गरिरहेको यस्तो ब्यवहारले सल्मानी दुःखी छन्। त्यसैमा नगरपालिकाले संक्रमित भएपछि पनि फोहोर फाल्ने गाडीमा राखेर आफूलाई बजारबाट आइसोलेसन कक्ष्यसम्म लगेको देख्दा उनको मन बढी कुँडिएको छ।
उनले आफ्नै भाषामा भने, ‘मरिज जहाँ काभि हो एम्बुलेन्ससे लाना चाहिए, लेकिन कचडा बोक्ने गाडीमे रखकर बेइज्जती नहि करना चाहिए।’उनले आफ्नो गल्ती नभएको बताए। ‘मेरो कुनै हालतमा पनि गल्ती थिएन तर अपसोच कुन मान्छेबाट मलाई संक्रमण भयो थाहाँ नपाउँदा अरुले पनि दुःख पाउने भए। मैले सबै सेवाग्राहीलाई जोगाउने प्रयास गरेकै थिए,’ उनको भनाई छ। सरसफाई गरी सेनिटाइजर र साबुन–पानीको बढि प्रयोग, मास्कको प्रयोग गरेर काम गर्दागर्दै कोरोना भाईसरले समातेको उनले बताए। तर समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको सल्मानीको भनाई छ।सल्मानी घरका आमाबुवा, छरछिमेक र आफन्तहरुबाट टाढा बसेर दार्चुलामा शैलुन व्यवसाय गरी जिबिका चलाइरहेका थिए। श्रीमानलाई कोरोना भाइरसले समातेपछि अव यो समाजमा निको भएर पनि बस्ने वातावरण हुदैन की भन्ने चिन्ता सल्मानीकी पत्नी सोनममा थपिएको छ। आफू र छोराछोरीलगायत तीन जनाको थप स्वाब संकलन गरिएको उनले बताइन।
‘पत्रकार जी हाम्रो आवाज सरकारलाई सुनाइदिनु होला। रोग भन्दा पनि समाजको डर धेरै हुन थाल्यो,’ उनले फोनमा भनिन्, ‘म बिहानै नास्ता खुवाएर बुढालाई पसलमा पठाउँथे। जोगिएर काम गर्न भन्थे। मास्क लगाईहाल्नु, सेनिटाइज गर्नु भनेर सम्झाउथे। तर कुनै सिप चलेन। अब मेरा दुबै बच्चा र मेरो स्वाब संकलनको रिर्पोट आइदिएको भए ढुक्क भइन्थ्योे किरु’ उनीहरुको न त दार्चुलाको समाजसंग भाषा मिल्छ नत केहि दुखेसो पोख्न सक्छन। अप्ठेरो परेका बेला साथ दिने कोही नहुँदा खिन्नता प्रकट गर्छन।महाकाली नगरपालिकाले २१ भदौंमा सबैको सम्पर्कमा गएर काम गर्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सैलुन ब्यवसायीलगायत ४७ जनाको स्वाव संकलन गरेको थियो। ती मध्ये ४५ जनाको नेगेटिभ र २ जनाको रिर्पोट पोजेटिभ आएको थियो। तिनै मध्ये एक थिए, सल्मानी।