दार्चुलाको पहिचान बन्दै अपिनाम्पा अल्लो उद्योग (फोटो फीचर)

६ बर्ष अघि

२0७५ असार २८ बिहीबार

दार्चुलाको पहिचान बन्दै अपिनाम्पा अल्लो उद्योग (फोटो फीचर)

सुलोचना महता, असार २८ दार्चुला । बिगत चार दशकदेखि दार्चुला जिल्लामा सञ्चालित कृष्णानन्द जोशीको अल्लो उद्योगले दार्चुलाको पहिचान बनाउँदै गएको छ । २०३२ सालमा सञ्चालनमा ल्याईएको कृष्ण धाकाटोपी उद्योग अहिले अपिनाम्पा अल्लो उद्योगका रुपमा सञ्चालनमा रहेको छ । दार्चुला आउने जो कोहीले पनि सम्झना स्वरुप स्थानीय स्तरमा पाईने अल्लोको धागोबाट बनेका कपडाहरु लैजाने गरेका छन् । यसबाहेक जिल्लामा आउने नयाँ कार्यालय प्रमुख, दार्चुला घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले दार्चुलाको चिनोका रुपमा अल्लोबाट बनेका विभिन्न कपडाहरु कोटपैन्ट, धाकाटोपी, झोला, नेपाली चोलो तथा अन्य सामाग्रीहरु किनेर लैजाने गरेका छन् । बर्षौदेखि दार्चुला जिल्लामा सञ्चालित यस उद्योगले देश तथा विदेशमा आफ्नो उत्पादन पु¥याउन थालेपछि विभिन्न ठाउँमा पुरष्कार समेत पाएको अल्लो उद्योगका सञ्चालक कृष्णानन्द जोशीले बताए । अल्लोकै प्रचार प्रसार र यसबाट बनाइने विभिन्न कपडाहरुको तालिम दिन कृष्णानन्द जोशी नेपाल लगायत भारत, बंगलादेश, श्रीलंका लगायतका देशहरुमा पुगेका छन् । 


उनको उद्योगमा  अहिले प्रत्यक्ष रुपमा आठ जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा सयौँ व्यक्तिहरु यस उद्योगसँग जोडिएका छन् । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ दार्चुला जिल्लाको व्याँस, दुहूँ, नौगाड र अपि हिमाल गाउँपालिकाका विभिन्न ठाउँबाट आउने गरेको छ भने गुणस्तरिय अन्य कच्चा पदार्थहरु बाहिरबाट पनि ल्याइने गरेको छ ।  यहि उद्योगबाट जोशीले मासिक लाखौँको आम्दानी गर्ने गरेका छन् । उद्योगबाटै जोशीले बालबच्चाहरुलाई काठमाण्डौमा पढाइरहेका छन् भने घरखर्च र कर्मचारीहरुको खर्चपनि उद्योगबाटै चलाइ रहेका छन् ।  उद्योग फस्टाउनमा कृष्णानन्द जोशी मात्रै नभई उनको सबै परिवार यसैमा लागेका छन् ।   हाल उनको उद्योगमा पाँच वटा कपडा बनाउने मेसिन (राँज) छन् । अझै आधुनिक किसिमका कपडा बुन्ने मेसिनहरु थप्न सकेमा उद्योगबाट थप आम्दानी गर्न सकिने र रोजगारी पनि बढाउन सकिने उनको भनाई छ । 


नयाँ पुस्ताले यस्तो व्यवसाय सञ्चालन गर्न चाहेमा उनको उद्योगमा तालिम तथा सीप विकास गर्न सहयोग पनि गरिन्छ । दार्चुला जिल्लामा पछिल्लो समय अल्लो प्रसोधन कम हुँदै गइरहेको र कपडा बनाउने सीम, अल्लो प्रसोधन गर्ने आधुनिक तवर तरिकाहरु र सबै युवपीढी कामका लागि विदेशीन थालेपछि नयाँ पुस्ताले यस्तो सीप गुमाउने चिन्ता जोशीलाई छ । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ खारमा पनि पछिल्लो समय जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, मेड्पा तथा लघु उद्यम विकास कार्यक्रमहरुले अल्लो प्रसोधनका लागि मेसिन र तालिमहरु पनि दिएको छ ।  दार्चुला जिल्लाको रोजगारीका लागि यस क्षेत्रमा पाईने अल्लोलाई प्रयोग गर्न सकेमा केही हदसम्म बेरोजगारी हटाउन सकिने छ । 
यसका लागि स्थानीय, प्रदेश र संघिय सरकारले आवस्यक नीति नियम लागु गर्दै उद्योग स्थापनामा सहयोग गर्नु अहिलेको आवस्यकता रहेको छ ।