विराटनगरका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

४ बर्ष अघि

२0७७ भाद्र २0 शनिबार

विराटनगरका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर भदौ २० । कोरोना भाइरसबाट संक्रमित विराटनगर महानगरपालिका घर भएका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार साँझ कोशी अस्पतालमा मृत्यु भएकी महिलाको शनिबार बिहान ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा। लक्ष्मीनारायण यादवले जानकारी दिए । विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको सोही दिन साँझ ७ः३० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजकसमेत रहेका डा। यादवले बताए । स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । यादवका अनुसार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर घर भएकी कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए । संक्रमित महिलामा पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको थियो । महिलामा चार वर्षदेखि उच्च रक्तचापको समस्या पनि रहेको डा। सापकोटाले बताए । स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि ती महिलामा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।डा। सापकोटाले मृतकको शवको व्यवस्थापन नियम अनुसार गरिने जानकारी दिए । हालसम्म प्रतिष्ठानमा उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।