सुदूरपश्चिममा ५ महिनामा कोरोना संक्रमितको संख्या ५,७५४ पुग्यो

४ बर्ष अघि

२0७७ भाद्र १५ सोमबार

सुदूरपश्चिममा ५ महिनामा कोरोना संक्रमितको संख्या ५,७५४ पुग्यो

धनगडी भदौ १५ । आजभन्दा ठीक पाँच महिनाअघि अर्थात् चैत १४ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो ।दुवईबाट आएका कैलालीका ती युवकमा स्वास्थ्य समस्या देखिए पनि सेती प्रादेशिक अस्पतालमा उपचार गराउन जाँदा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी करिब एक महिना अस्पताल बसाइँपछि निको भएर घर फर्किएका थिए । त्यसयता पाँच महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय ५४ जनामा संक्रमण देखिएको छ ।आइतबार मात्रै एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बझाङ्गमा ४७, अछाममा १८, डोटीमा १५, कञ्चनपुरका सात र दार्चुलामा दुई जनामा संक्रमण देखिएको हो । पहिलो संक्रमित देखिएदेखि चैत महिनामा थप चार जनामा कोरोना संक्रमण देखिएको थियो । बैशाखमा नयाँ संक्रमित थप भएनन् । जेठमा थप दुई सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या दुई सय ६१ पुगेको थियो । असार महिनामा तीन हजार पाँच सय ६१ जना संक्रमित थएिका थिए । यस्तै साउन महिनामा एक हजार २९ संक्रमित थपिए । भदौ महिनाको १४ गतेसम्म नौ सय तीन जना संक्रमित थपिएका छन् । यस प्रदेशका हालसम्म ११ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाँच महिनाको अवधिमा ६१ हजार आठ सय ५४ जनाको स्वाव परीक्षण गरिएको छ । यसमध्ये करिब ९।३० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । हालसम्म चार हजार नौ सय २९ जना निको भएर घर गएका छन् । हाल सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरी प्रदेशभित्र तीन प्रयोगशाला छन् । अनलाइन खबरबाट