दार्चुलाको मालिकार्जुनमा कुटपीटगरी हत्या आरोपमा दुईजना पक्राउ

४ बर्ष अघि

२0७७ भाद्र १४ आईतवार

दार्चुलाको मालिकार्जुनमा कुटपीटगरी हत्या आरोपमा दुईजना पक्राउ

दृष्टिकोण समाचार भदौ १४ दार्चुला ।  दार्चुलामा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका ८ तस्कोटकै २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । गत भदौ ५ गते मदिरा सेवन गरि उनीहरुले लाल बहादुरलाई कुटपिट गरि गम्भीर घाइते बनाएका थिए । पीडित परिवारले भदौ १० गते मदिरा सेवन गरि कुटपीट गरेको भन्दै प्रहरी चौकी शंकरपुरमा निवेदन दिएका थिए । कुटपीटबाट घाइते भएका चन्दको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि भदौ ११ गते धनगढी रिफर भएको थियो । चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।