सरकारले ६४९ स्थानीय तहमा तुरुन्तै पाँच बेडका अस्पताल सञ्‍चालन गर्ने

४ बर्ष अघि

२0७७ भाद्र १३ शनिबार

सरकारले ६४९ स्थानीय तहमा तुरुन्तै पाँच बेडका अस्पताल सञ्‍चालन गर्ने

काठमाडौ भदौ १३ । सरकारले अस्पताल नभएका ६४९ वटा स्थानीय तहमा ५ बेडको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेको छ। कोभिड – १९ को उपचार तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल नभएका ६४९ स्थानीय तहमा एकैपटक अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेका हुन्। उक्त अस्पतालमा एमबिबिएस डाक्टर एक जना र नर्स दुईजना हुनेछन् भने आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरू पनि रहनेछन्। त्यसका लागि मन्त्रालयले शुक्रबार नै ६४ करोड रुपैयाँ बजेटसमेत निकासा गरिसकेको छ। स्थानीय तहमा कहाँ अस्पताल सञ्चालन गर्ने भन्ने निर्णय सम्बन्धित स्थानीय तहले गर्न सक्नेछन्।  त्यस्तै, अस्पतालको व्यवस्थापन पनि स्थानीय तहले नै गर्न सक्ने भनिएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार २०२ बेड थप्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार संघ अन्तरगर्तका अस्पतालमा १ हजार बेड, प्रदेश अन्तरगर्तका अस्पतालमा १ हजार ९५७ र एउटा पनि अस्पताल नभएका ६४९ वटा गाउँपालिकामा तत्काल ५ बेडका दरले अस्पताल ल्याउँदा थप ३ हजार २४५ वटा बेड थपिनेछन्। थप बेडहरु कोभिड–१९ को संक्रमितको उपचारका लागि प्रयोग हुने बताइएको छ।