पहिरोले मृत्यु भएका दुई दाजुभाईका परिवारलाई लेकम गाउँपालिकाले दुई लाख राहत दिने

४ बर्ष अघि

२0७७ भाद्र ८ सोमबार

पहिरोले मृत्यु भएका दुई दाजुभाईका परिवारलाई लेकम गाउँपालिकाले दुई लाख राहत दिने

दृष्टिकोण समाचार भदौ ८ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्ती पहिरोमा परि ज्यान गुमाएका लेकम गाउँपालिका वडा नम्बर ५ पिडका अर्जुन दमाई र मिलन दमाई परिवारलाई लेकम गाउँपालिकाले दुई लाख राहत दिने भएको छ । भदौँ २ गते बसेको लेकम गाउँपालिका गाउँकार्यपालिकाले बैठकले मालिकार्जुन पहिरोमा ज्यान गुमाएका लेकम गाउँपालिका वडा नम्बर ५ पिडका मृतक अर्जुन दमाई र मिलन दमाई दाजुभाईको परिवारलाई जनहि एक लाखका दरले दुई लाख रुपैँया राहत दिने निर्णय भएको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो । साउन ६ गते बिहान पस्ती पहिरोमा पुरिएर २६ बर्षीय अर्जुन दमाई र २२ बर्षीय मिलन दमाई दाजुभाईको घटनास्थलमै मृत्यु भएको छ । परिवारका दुईवटै छोरा गुमेपछि सिलाईकटाइ गरेर जीविकोपार्जन गर्दै आएको स्यानु दमाई परिवार बिचल्लीमा परेको छ । यसअघि केन्द्र सरकारले बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई दुई लाख दिने र एउटै परिवारका एक भन्दा बढी मानिसले ज्यान गुमाएको भए प्रति मृतक थप एक लाखका दरले राहत प्रदान गर्ने निर्णय गरिसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले समेत ९ वटै जिल्लामा बाढी, पहिलो तथा डुबान जस्ता प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका नजिकका हकवालालाई एक लाख रुपैँया राहत दिने निर्णय गरेको छ । गतिशिल नेपाल व्यक्तित्व विकास शैक्षिक कार्यक्रमका संस्थापक सञ्चालक हरिप्रसाद जोशीको नेतृत्वमा दमाई परिवारका लागि ६८ हजार ९२६ रुपैँया राहत संकलन भएको छ । संकलन भएको रकम दमाई परिवारको घरमै पुगेर हस्तान्तरण गरिसकेको जोशीले बताउनुभयो । प्रदेश र केन्द्र सरकारले प्रदान गर्ने राहत रकम प्रमुख जिल्ला अधिकारी मार्फत प्रदान गरिनेछ । अर्जुनका आमा भुरा र श्रीमति कलावतीको अवस्था निकै दयनिय रहेको स्थानीय अनिल परियारले बताउनुभयो ।