दार्चुला–तिंकर सडक निर्माणको काम सुचारु हुने, सेनाको टोली दार्चुला आईपुग्यो 

४ बर्ष अघि

२0७७ श्रावण २४ शनिबार

दार्चुला–तिंकर सडक निर्माणको काम सुचारु हुने, सेनाको टोली दार्चुला आईपुग्यो 

दृष्टिकोण समाचार साउन २४ दार्चुला । दार्चुला–तिंकर सडक निर्माणका लागि महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जनाको नेपाली सेनाको टोली शुक्रबार दार्चुला आइपुगेको छ । चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको निर्माण काम गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ । आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्री सहित जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताउनु भयो । नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्री सहित सेनाको टोली सदरमुकाम खलंगा आइपुगेको छ । नेपाली सेनाका महासेनानी गुरुङ आफैले स्थलगत रुपमा सडकको अवलोकन निरीक्षण गर्ने कार्यक्रम समेत रहेको सेनानी थापाले बताउनु भयो । उहाँका अनुसार सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अबलोकन गरेर सोही अनुसार बन्दोबस्ती र व्यवस्थापन गरिने छ । नेपाली सेनाको टोली केही दिन जिल्ला सदरमुकाम खलंगामै बस्ने र आबश्यक निर्माण सामग्रीहरु ढुवानी पश्चात् निर्माण स्थलमा खटिनेछ ।  गत बैशाख १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले व्याँस गाउँपालिका वडा नम्बर २ घाँटिबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । २०६५–६६ बाट निर्माण सुरु गरिएको दार्चुला–तिंकर सडक निर्माणको कार्य हालसम्म ४० किलोमिटरमा ट्याक खोलिएको छ । अब सडक निर्माणको जिम्मेवारी सेनाले पाउने भएपछि सडक निर्माणले गती लिने आशा गरिएको छ ।