मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रमको काम अन्तीम चरणमा

४ बर्ष अघि

२0७७ श्रावण २३ शुक्रबार

मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रमको काम अन्तीम चरणमा

दृष्टिकोण समाचार साउन २३ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं.९ दत्तुमा मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम लागु भएको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रबाटै स्थानीयको आयस्तर बढाउने उद्देश्यले तरकारी पकेट क्षेत्र विकासका लागि भुमि सुधार तथा सहकारी मन्त्रालय कृषिज्ञान केन्द्र बैतडीबाट गत आवमा रु.४९ लाख ८५ हजार रुपैँयाको बजेट र कृषकहरुको ४३ लाख १२ हजार ५ सय रुपैँया स्वलगानिमा नमुना कृषि गाँउकार्यक्रम लागु भई निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।महाकाली नगरपालिका वडा नं. ९ दत्तुका सय परिवार लाभान्वित हुने गरि झण्डै २ सय रोपनी जग्गामा ५० वटा पोलिहाउस निर्माण गरिन लागेका हुन् ।५० प्रतिशत अनुदानमा निर्माण गरिन लागेको नमुना कृषि कार्यक्रममा अहिले सम्म करिव ३० वटा पोलिहाउस निमार्ण गरिएको उपभोक्ता समिति अध्यक्ष जगतसिह चैँसिरले जानकारी दिनु भयो ।कोरोना भाईरसको महामारीका कारण लकडाउन भई असारमै सम्पन्न गर्नु पर्ने योजनाको काममा ढिलाई भएको र हाल ३० वटा गोठ सुधार, २ वटा सिचाई ट्याङकी निर्माण र ३० वटा पोलिहाउस निर्माणको काम सम्पन्न गरिएको अध्यक्ष चैँसिरले बताउनु भयो ।सुदुरपश्चिम प्रदेश सरकारले लागु गरेको मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम असार मसान्तमै सम्पन्न गर्नुपर्ने भएपनि अहिले सम्म गरिएको कामको मूल्याङ्कनका आधारमा रकम भुक्तानी गरिएको कृषि ज्ञानकेन्द्र बैतडिले जनाएको छ । उक्त कार्यक्रम लागु भएपछि कृषि क्षेत्रमा आत्मनिर्भर भई कृषकहरुको जिवनस्तरमा समेत सुधार हुने कार्यक्रमले लक्ष्य लिएको छ ।