संरक्षण अभावमा ऐतिहासिक उकु महल, स्थानीय सरकारको बजेट पुग्दैन, केन्द्रले हेर्दैन

४ बर्ष अघि

२0७७ श्रावण २३ शुक्रबार

संरक्षण अभावमा ऐतिहासिक उकु महल, स्थानीय सरकारको बजेट पुग्दैन, केन्द्रले हेर्दैन

दृष्टिकोण समाचार साउन २३ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको ऐतिहासिक उकु महल संरक्षण अभावमा अस्तव्यस्त रहेको छ । नेपालको इतिहासमा उकु दरबारबारे कुनै एकीन तथ्य प्रमाण हालसम्म भेटीएको छैन् । तर उकुको ऐतिहासिक सम्बन्ध सिमावर्ती भारतको अस्कोटसँग रहेको पाइन्छ । अस्कोटको ईतिहास अनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाट स्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए र अभयपालले वरपरका विभिन्न असीवटा रज्यहरु एकीकरण गरेर अस्कोट नामांकरण गरिएको भन्ने इतिहास छ ।१२ वटा भिन्न राजाहरुको प्रमुख राजालाई रजवार भन्ने गरिन्थयो । दार्चुला जिल्लाकै देथलाको पाल राज्य पनि यो बाह्र राजाहरुमा सम्मिलित थियो भन्ने भनाई छ । ईतिहास अध्ययनका क्रममा भेटिएको सन् १३९४ र सन् १४२० को ताम्र पत्रले रजबार भारती पालको शासनलाई प्रमाणित गर्दछ । नेपाली ईतिहासका अनुसार नाग पाल वा नाग मल्ल निरै पालको पुत्र थिए । उकुको इतिहास सम्बन्धी एउटा लेख अनुसार उकुकोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग पालका तीनवटा रानीहरुले निर्माण गराएका हुन भन्ने उल्लेख छ ।यो इतिहास बोकेको उकु महल हाल जिर्ण अवस्थामा रहेको छ । नेपाल पुरातत्व विभागका पुरातत्व अधिकृत नवराज अधिकारीले २०६३÷६४ सालमा दार्चुलामा पुरातात्विक अध्ययन गरेका थिए । सोही अनुरुप उकु महललाई क बर्गमा राखेर यसको अध्ययन हुनु पर्ने बताएका छन् । २०७४ सालमा स्थानीय सरकारको नेतृत्व गरिसकेपछि मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले पनि पुरातत्व विभागलाई उकु महलको अध्ययनका लागि पत्राचार गरेको बताउनु भयो ।हाल गाउँपालिका तथा वडा पालिकाले भएका मुर्तिहरुको संरक्षण गर्नका लागि मुर्तिहरुको क्रमशंख्या तोक्ने तथा त्यसलाई व्यवस्थित बनाउन बजेट विनियोजन गरी केही काम गरेको वडा नम्बर ६ का वडा अध्यक्ष गोपालसिह धामीले जानकारी दिनुभयो ।