नम्बर ४४ गणको कार्यभार सम्हाल्न गणपति बंम पुगे दार्चुला 

४ बर्ष अघि

२0७७ श्रावण १९ सोमबार

नम्बर ४४ गणको कार्यभार सम्हाल्न गणपति बंम पुगे दार्चुला 

दृष्टिकोण समाचार साउन १९ दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा कार्यभार सम्हाल्न गणपति नरेन्द्र बमं दार्चुला आइपुगेका छन् । नेपाल सरकारले हालै दार्चुलामा स्थापना गरेको गणका लागि सशस्त्र प्रहरी उपरिक्षक एसपी नरेन्द्र बमंलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणको गणपतिमा समायोजन गरेको थियो । कार्यभार सम्हाल्न गणपति आइतबार बेलुकी दार्चुला आइपुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ । भारत र चीन सँग सीमा जोडिएको दार्चुलामा पहिलो पटक सशस्त्र प्रहरीको गण स्थापना गरिएको छ । यसअघि सदरमुकाम खलंगामा रहेको नम्बर ५० गुल्मलाइ व्यासको छांगरु गागा पठाउँदै खलंगामा नम्बर ४४ गण स्थापना गरिएको हो । सरकारले नेपालको अतिक्रमित भूगोल, कालापानी, लिपुलेक र लिम्पियाधुरा, तथा तीन गाउँ कुटी, नावी र गुञ्जी सहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यो क्षेत्रमा सरकारले सुरक्षा फौज बढाउँदै लगेको छ । दार्चुलामा भारतसँग सीमा जोडिएको कुल १ सय २५ किलोमिटर सीमा छ भने चीनसँग २० किलोमिटर क्षेत्रफलमा सीमा जोडिएको छ । सरकारले भारतसँग सीमा जोडिएको दार्चुलाको लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजीवि, व्यास गाउँपालिका दुम्लीङ र छांगरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरि सकेको छ भने महाकाली नगरपालिकाको दत्तु, व्यासको सुनसेरा, व्यासकै कौवा र चीनसँग सीमा जोडिने तिंकरमा बीओपी राख्न गृहकार्य गरिरहेको छ ।