अनियमितताको बारेमा बोल्दा जागिर गुम्यो, आफ्नै गल्तीले दुख पाएको पालिकाको भनाई,

४ बर्ष अघि

२0७७ श्रावण १६ शुक्रबार

अनियमितताको बारेमा बोल्दा जागिर गुम्यो, आफ्नै गल्तीले दुख पाएको पालिकाको भनाई,

दृष्टिकोण समाचार साउन १६ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा करार सेवामा काम गर्दै आएका कर्मचारी चन्द्रावती ठगुन्नाले गाउँपालिका भित्र भईरहेको अनियमितताको बारेमा बोल्दा आफुलाई गाउँपालिकाले जागिरबाट हटाई दिएको बताएका छन् । कोरोना भाईरस नियन्त्रण गर्न पछिल्लो तीन चार महिना देखि दल्लेख हेल्थ डेस्कमा काजमा काम गर्दै आएका कर्मचारी ठगुन्नाले हेल्थ डेस्कमा खटिएका  इन्चार्ज तथा जनप्रतिनिधीहरुबाट अनियमितता गरेको भन्ने आवाज उठाउँदा आफुले जागिर  गुमाउनु परेको गुनासो गर्नु भएको छ ।  आफुले हेल्थ डेस्कको व्यवस्थपन गर्न आएको  रकम कुन शिर्षकमा कति खर्च भयो,कर्मचारीका लागि आएको रकम इन्चार्ज एक्लैले खाएको र डेस्कमा काम गर्ने कर्मचारीलाई कुनै सेवासुविधा नदिएको भन्ने आवाज उठाउँदा जागिर गुमाउनु परेको उहाँको भनाई छ । यस बारेमा नौगाड गाउँपालिकामा बुझ्दा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रितमसिह ठगुन्नाले गाउँपालिकाको कर्मचारी भएर गाउँपालिका भित्रको कमिकमजोरी पालिका भित्र नभनि सामाजिक सञ्जालबाट पालिकाको बदनाम गर्ने किसिमले अभिव्यक्ति दिएकाले करार सम्झौता भंङ्ग गरिएको बताएका छन् ।   सामाजिक संजालमा जथाभावी लेखेको बारेमा स्पष्टिकरण माग्दा सामाजिक सञ्जालबाटै जवाफ दिएकोले गाउँसभाले निर्णय गरेर करार सम्झौता भङ्ग गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ठगुन्नाले बताउनुभयो ।