सिमा क्षत्रका समस्या ः समाधानका लागि पहल कदमी हुनु आवस्यक

६ बर्ष अघि

२0७५ असार २४ आईतवार

सिमा क्षत्रका समस्या ः समाधानका लागि पहल कदमी हुनु आवस्यक

दृष्टीकोण समाचार, असार २४ दार्चुला । नेपाल भारत सीमा क्षेत्रमा बस्ने सीमा क्षेत्रका बासीन्दाहरु विभिन्न समस्या खेपीरहेका छन् । विषेश गरी नेपाल भारत सीमा जोडिएका महाकाली नगरपालिका, व्याँस, दुँहुँ, मालिकार्जुन र लेकम गाउँपालिकामा बस्ने नेपालीहरुले अनेकौँ समस्याहरु भोगिरहेका छन् ।
सीमा क्षेत्रमा बस्ने स्थानीयका समस्याहरु समाधानका साथै दुई देशका आपसी हितका समस्या समाधानका लागि नेपाल भारत सुरक्षा प्रमुखहरुको नियमित रुपमा बस्ने बैठकमा प्रस्तुत गर्ने विषयहरुमा छलफल गर्नका लागि स्थानीय तहका प्रमुख तथा सञ्चारकर्मीहरुले जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खुमकान्त आयार्चलाई सुझाव दिएका छन् । यही असार २८ गते दार्चुलामा बस्ने नेपाल भारत सुयुक्त सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट उठान गर्नु पर्ने विषयमा प्रमुख जिल्ला अधिकारीले सीक्षा क्षेत्र जोडिएका स्थानीय तहका प्रमुख, उद्योग बाणिज्य संघ र सञ्चारकर्मीहरुसँग सुझाव संकलन गर्न आइतबार जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाएका हुन् । 
बैठकमा सुझाव दिँदै व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले दार्चुला जिल्लाको उत्तरपश्चिम क्षेत्रमा पर्ने व्याँस गाउँपालिकाको सीमा क्षेत्रमा विभिन्न समस्याहरु रहेको बताएका छन् । उक्त क्षेत्रमा चोरी तस्करी बढ्दो रहेको, नेपालीहरुलाई १० केजी सम्म मात्र खाद्यान्न लैजान दिने गरेको, तिगरम र सितापुलमा भन्सार कार्यालय नहुँदा राजश्व संकलनमा समस्या भईरहेको, व्याँसको वडा नम्बर १ को क्षेत्रमा भारतीय पक्षले नेपाल तर्फको बनजंगलहरु फडानी गर्ने गरेको र हाल भारतीय क्षेत्रमा सडक निर्माण चलिरहेकाले अनाधिकृत रुपमा जिलेटिन पड्काउने गरेपछि नेपालतर्फ ढुङ्गा आउने गरेपछि बाटोघाँटो समेत भत्कने गरेकोले त्यस विषयमा पनि सीमा बैठकमा कुरा राख्नु पर्ने सुझाव दिएका छन् ।


त्यस्तै महाकली नगरपालिकाका प्रमुख हंसराज भट्टले नेपाल भारत सीमा क्षेत्र जोड्ने सदरमुकामको पुल खुल्ने समयमा हेरफेर गर्नुपर्ने, सुरक्षा अभिलेखहरु राख्ने तथा भारतबाट समान ल्याउँदा हुने दुव्र्यवहारका बारेमा पनि सीमा बैठकमा कुरा राख्नु पर्ने सुझाव दिएका छन् । त्यस्तै जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्र्कीले नेपाली कामदारहरु भारतमा गएर काम गर्दा ज्यान गुमाउनेहरुको सुरक्षामा ख्याल गर्नु पर्ने र उनीहरुको बीमाका बारेमा पनि कुरा हुनु पर्ने बताएका छन् । 
नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले नेपाल भारत विवादित रहेको कालापानी क्षेत्रमा नेपाल तर्फ पनि सुरक्षा उपस्थिति हुनु पर्ने, नेपाल भारत सीमा क्षेत्रमा रहेका पुलहरुको खुल्ने र बन्द हुने समयमा एकरुपता ल्याउनु पर्ने, तथा माथिल्लो क्षेत्रका स्थानीयहरु हाल बाटोघाँटो नहुँदा आवत जावत गर्न समस्या भएको हुँदा, भारतीय पक्षले हेलीकोप्टर सेवा सुरु गरेको अवस्थामा नेपालका असाह्य, असक्त तथा विरामी व्यक्तिहरुलाई पनि हेलीकोप्टरबाट आवत जावतमा सहजता गराउने विषयहरु सीमा बैठकमा छलफल हुनु पर्ने बताएका छन् ।
त्यस्तै दुई देश बीच रहेका जिल्ला स्तरबाट समाधान हुने विषयहरु नेपालको तर्फबाट सबै समेट्नु पर्ने र समाधानका लागि पहलकदमी गर्नु पर्नेमा बैठकमा छलफल भएका छन् । बैठकमा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले नियमित सीमा बैठकमा आफुहरुले दुइ देशको हितहुने कुराहरु उठाउने गरेको र बाँकी विषयहरुमा छलफल गर्न सम्बन्धित निकायबाट सुझाव संकलन गर्न बैठक आह्वान गरिएको बताएका छन् ।