नारामा सिमित शैक्षिक नगरी,, विद्यार्थीबाट सहयोगका नाममा शुल्क उठाइदै 

४ बर्ष अघि

२0७७ श्रावण १५ बिहीबार

नारामा सिमित शैक्षिक नगरी,, विद्यार्थीबाट सहयोगका नाममा शुल्क उठाइदै 

दृष्टिकोण समाचार साउन १५ दार्चुला । दार्चुला जिल्ला सदरमुकाममा रहेको महेन्द्र नमुना माविले सहयोगको नाममा विगतबर्ष देखि विद्यार्थीहरुबाट २ सय ५० रुपैँया देखि ९ सय रुपैँया सम्म शुल्क उठाइ रहेको छ । विगत तीन बर्ष देखि कक्षा नर्सरी देखि आठ सम्म अग्रेजी माध्यममा पढाई सुरु गरेको विद्यालयले सहयोग रकम भन्दै शुल्क उठाउने गरेको हो । बिना रसिद सहयोगको नाममा शिक्षकहरुको तलबभत्ता देखि व्यवस्थापन खर्चका लागि विद्यार्थिहरुबाट रकम असुल्दै आएको र यसरी शुल्क उठाउन नमिल्ने अभिभावक नारायण दत्त भट्टले बताउनु भयो । सहयोगका नाममा पैशा असुल गर्नु र अभिभावकहरुमा भार थप्नु शिक्षा नियमावली विपरीत रहेकोले यसरी सहयोगका नाममा कुनै पनि विद्यालयले शुल्क उठाउन नपाईने नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीको भनाई छ । बेला बेलामा अभिभावहरुबाट शुल्क उठाउँदै आएको बारेमा सरोकावाल निकायलाई जानकारी गराएको भएपनि कसैले ध्यान नदिँदा यस्तो समस्या आएको स्थानीयहरुको आरोप रहेको छ । अभिभावकहरुबाट चरम गुनासो आउन थालेपछि बिहिबार अभिभावक तथा सरोकारवाला निकायहरुसँग विद्यालयले बैठक गरेको छ । विगतमा व्यवस्थापन खर्चका नाममा सबै अभिभावकले पैशा सहयोग गरेको र आगामी दिनमा विद्यार्थीको चापलाई मध्यनजर गर्दैै उनीहरुको पढाई व्यवस्थापनका लागि रकम उठाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका महाकाली गरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवं नगरपालिका प्रबक्ता पुष्करराज जोशीले स्वीकारेका छन् । देश नयाँ संरचनामा गईसकेको र विद्यार्थीहरुबाट कुनै किसिमको सहयोगका नाममा शुल्क उठाउन पाईदैन । विद्यालयको समस्या समाधानका लागि स्थानीय सरकारले व्यवस्थापन गर्नु पर्ने भन्दै अभिभावकबाट शुल्क लिनु  सरासर गलत रहेको जिल्ला शिक्षा समन्वय ईकाई दार्चुला प्रमुख जयराज पन्तको भनाई छ । महाकाली नगरपालिकाले नगरक्षेत्रलाई शैक्षिक नगरीको घोषणा गरि विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका विभिन्न काम गर्ने बताएको थियो । तर नगरभरीका विद्यालयहरुमा विद्यार्थी पोशाक परिवर्तन गरेको, दुईतिन जोर पोशाक राखेर व्यापार गरेको, शिक्षक भर्नामा आफ्ना मान्छे भर्ना गरेको, शिक्षक सेवाबाट पास भएर आएका शिक्षकहरुलाई काम गर्न नदिएको, शिक्षा नीतिका नाममा नगर प्रमुखले तोकेर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जनप्रतिनीधिहरुलाई पठाएको र अग्रेजि माध्यमको पढाई सञ्चालन गरी चर्को शुल्क अशुल्ने काम गरेको र शिक्षामा गुणस्तर भन्दा पनि व्यापार बढाएको भन्दै सरोकारवालाहरुले त्यो कदमको विरोध गरेका छन् । महेन्द्र नमुना माविमा झण्डै २५ सय विद्यार्थी अध्ययन गर्छन । विद्यालयलाई पढाई सञ्चालन गर्न साच्चिकै समस्या भएको छ । एकै कक्षामा चार पाँच वटा सेक्सन राखेर पढाई गर्नु परेको छ । विद्यालयमा सरकारी दरबन्दी पर्याप्त नहुँदा पढाई सञ्चालनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनु भयो ।