खलंगामा सशस्त्र प्रहरीको गण र छाङरुमा गुल्म रहने 

४ बर्ष अघि

२0७७ श्रावण १२ सोमबार

खलंगामा सशस्त्र प्रहरीको गण र छाङरुमा गुल्म रहने 

रमेश खत्री साउन १२ दार्चुला ।दार्चुला जिल्ला सदरमुकाम खलंगामा सशस्त्र प्रहरीको गण स्थापना हुने भएको छ । हाल रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म व्याँस गाउँपालिकाको छाङरुमा सर्नेछ । दार्चुला जिल्ला भरीको कार्यक्षेत्र हेर्ने गरि खलंगामा ४४ नम्बर गण राखिने भएको सशस्त्र प्रहरीले जनाएको छ । खलंगामा रहने गणमा सशस्त्र प्रहरी उपरिक्षक एसपि नरेन्द्र बमलाई दार्चुला पठाउने तयारी छ । हाल लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जौलजिबी, व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरु, वडा नम्बर २ दुम्लिङमा सशस्त्र प्रहरीको विओपी स्थापना गरिएको छ । लगत्तै महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु र व्याँस गाउँपालिका केन्द्र सुन्सेरमा पनि बीओपी स्थापना हुने भएको छ । सशस्त्र प्रहरीको गणमा ६ सय २१ जना र गुल्ममा १ सय ६० जना जनशक्ति रहने व्यवस्था छ । गणमा एसपीको कमाण्डमा ५ डिएसपी १४ जना इन्सपेक्टरको दरवन्दी रहने नम्बर ५० गुल्म दार्चुला हेड क्वाटरका गुल्मपति डम्बर बहादुर बिष्टले जानकारी दिनुभयो ।