बाढी पहिरो प्रभावितको उद्धार र राहतमा जुट्न अनेरास्ववियु दार्चुलाको निर्देशन

४ बर्ष अघि

२0७७ श्रावण ८ बिहीबार

बाढी पहिरो प्रभावितको उद्धार र राहतमा जुट्न अनेरास्ववियु दार्चुलाको निर्देशन

दृष्टिकोण समाचार साउन ८ दार्चुला ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू दार्चुलाले सबै तहका कमिटी नेता, कार्यकर्ता, समर्थकलाई बाढीपीडितको राहत तथा उद्धारमा जुट्न निर्देशन दिएको छ । केही दिनदेखि जारी अविरल वर्षाले गर्दा दार्चुलाका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोले धनजनको ठूलो क्षति भइरहेको अवस्थामा संगठनले यस्तो निर्देशन दिएको हो । अनेरास्ववियुका जिल्ला संयोजक आन सिंह बडाल र सह संयोजक राजेन्द्र सिंह डागाले संयुक्त रुपमा विज्ञप्ती निकाली अबिरल वर्षाका कारण प्राकृतिक विपत्ती सृजना भएको भन्दै सबै विद्यार्थी नेता, कार्यकर्ताहरुलाई प्रभावित क्षेत्रमा परिचालन हुन निर्देशन दिएका हुन् । ‘हालै भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरोबाट जिल्लाको नौगाड गाउँपालिकाको परिगाउँका मानमति ठगुन्ना र पार्वती ठगुन्नाको मृत्यु भएको तथा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीको पहिरोमा परि अर्जुन दमाइ र मिलन दमाइको मृत्यु प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछौं, बडाल र डागाद्धारा हस्ताक्षरि विज्ञप्तिमा भनिएको छ, साथै यस क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ विज्ञप्तीमा बाढी तथा पहिरोको समस्या समाधान गर्न र उद्दार तथा राहत कार्यमा सम्पूर्ण क्षेत्रलाई यथाशीघ्र परिचालन गर्न तीनै तहका सरकारसँग माग पनि गरिएको छ । अनेरास्ववियु दार्चुलाले पहिरो र बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न जिल्ला कमिटि कार्यकर्तालाई निर्देशन दिएको छ ।