छाङरु र तिंकर गाउँका लागि २ सय क्वीन्टल चामल ढुवानी हुदै

४ बर्ष अघि

२0७७ असार २७ शनिबार

छाङरु र तिंकर गाउँका लागि २ सय क्वीन्टल चामल ढुवानी हुदै

दृष्टिकोण समाचार असार २७ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकर गाउँकालागि २ सय क्वीन्टल चामल ढुवानी सुरु भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुर्खेतबाट खलंगासम्म सडकमार्ग र खलंगाबाट व्याससम्म हेलिकोप्टरमार्फत चामल ढुवानी गराउन लागेको हो ।नीजि वायुसेवा कम्पनी माउन्टेन हेलिकोप्टरले चामल ढुवानीको जिम्मेवारी पाएको छ । छाङरु र तिंकर गाउँमा एक÷एक सय क्वीन्टल चामल ढुवानी गरिदैछ । सुर्खेतस्थित कम्पनीको गोदामबाट सडकमार्ग हुँदै दार्चुला सदरमुकामसम्म चामल ढुवानी भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमवहादुर थापाले बताउनुभयो । एक ट्रक चामल विहिवार र दोस्रो ट्रक चामल शुक्रवार खलंगा पुर्याइएको उहाँले बताउनुभयो । कम्पनीले टेण्डरमार्फत चामल ढुवानी गराउन लागेको छ । खलंगाबाट व्याससम्म जोड्ने पैदल बाटो सञ्चालनमा नभएकाले हेलिकोप्टरमार्फत ढुवानी गरिदैछ । माउन्टेन हेलिकोप्टरको ५ सिट क्षमताको हेलिकोप्टर चामल ढुवानीका लागि शुक्रवार साँझ खलंगा ल्याइएको छ । नाइन एन एएलडी कलसाइनको हेलिकोप्टरले तिन दिनमा खलंगाबाट व्यासक्षेत्रमा चामल ढुवानी गरिसक्ने माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो । ‘मौसम खुलेमा दुई दिनमै पनि चामल ढुवानी हुन्छ’ उहाँले भन्नुभयो ।
हेलिकोप्टरबाट एकपटकमा ५ देखि साढे ५ क्वीन्टल चामल ढुवानी हुनेछ । सुरुमा खलंगाबाट व्यासको छाङरु गाउँमा सबै चामल ढुवानी गरिनेछ । छाङरुबाट तिंकर गाउँका लागि १ सय क्वीन्टल चामल हेलिकोप्टरमार्फत ढुवानी गरिने व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो । उचाईमा उडान गर्नुपर्ने भएकाले छाङरुदेखि तिंकरसम्म एकपटकमा ४ क्वीन्टल चामल मात्रै ढुवानी गर्ने योजना छ । खलंगाबाट हेलिकोप्टरमार्पत छाङरु पुर्याइने चामल स्वास्थ्य चौकीको भवनमा भण्डारण गरिनेछ । छाङरु गाउँको छेउमै रहेको स्वास्थ्य चौकी नजिकै हेलिकोप्टर ल्याण्ड गरिने वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । माउन्टेन हेलिकोप्टरले सुर्खेतबाट खलंगा हुँदै व्यासक्षेत्रसम्म चामल ढुवानीको ठेक्का पाएको छ । प्रति किलोग्राम २ सय ४९ रुपैयाँमा ढुवानी सम्झौता भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । हेलिकोप्टरमार्फत २ सय क्वीन्टल चामल ढुवानी गर्न झण्डै ५० लाख रुपैयाँ खर्च हुँदैछ ।