दार्चुलाका स्थानीय सरकारले पीसीआर मेसिन खरिद गर्न ३ करोड रुपैया संकलन गरिदै

४ बर्ष अघि

२0७७ असार ८ सोमबार

दार्चुलाका स्थानीय सरकारले पीसीआर मेसिन खरिद गर्न ३ करोड रुपैया संकलन गरिदै

दृष्टिकोण समाचार असार ८ दार्चुला । जिल्लाको ९ वटै स्थानीय तहले पीसीआर मेसिन खरिदको लागि ३ करोड रुपैया संकलन गर्ने भएका छन । यहाँका २ वटा नगरपालिकाले ४०।४० लाख तथा ७ वटा गाउँपालिकाले ३०।३० लाख रुपैयाँका दरले झण्डै ३ करोड रुपैयाँको कोष बनाएर पीसीआर मेसिन खरिद तथा सञ्चालन गर्ने सहमति गरेका छन् । सुदूरपश्चिमको प्रादेशिक प्रयोगशाला धनगढीमा एकमात्रै पीसीआर मेसिनको भर पर्दा रिपोर्ट आउन हप्तौं कुर्नुपर्दा संक्रमण फैलिने खतरा बढेको भन्दै दार्चुलामा पीसीआर मेसिन खरिद गरि ल्याब सञ्चालन गर्ने गत साता निर्णय भएको थियो ।  पीसीआर मेसिन खरिद प्रयोगशाला स्थापनाको अध्ययन समितिका संयोजक एव जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले बजेटको बारेमा सहमति भएको बताउनुभयो । गत जेठ २९ गते बिहीबार जिल्ला समन्वय समिति, ९ वटै स्थानीय तहका प्रमुखसहित सरोकारवालाको जिल्ला संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकले पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । प्रदेश प्रयोगशालाको भर पर्दा संक्रमण झन् फैलिने देखियो । जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णयमा पुगेका हौ, रिपोर्ट ढिला आउने भएपछि जिल्लामै ल्याब सञ्चालन गर्नुपर्छ भन्नेमा एकमत छ, समन्वय समिति प्रमुख कार्कीले  बताए । पीसीआर मेसिन खरिदको लागि प्रयोगशाला स्थापनाको अध्ययनको लागि जिल्ला समन्वय समिति प्रमुख कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले जिल्लामा पीसीआर टेस्ट गर्ने मेसिन खरिद गर्न आवश्यक बजेट, जनशक्ति तथा भौतिक संरचना लगायतका व्यवस्थापकीय पक्ष संग निरन्तर छलफल भइरहेको जनाएको छ। समन्बन्धमा विज्ञसँग छलफल गरि प्रतिवेदन तयार गर्ने जनाएको छ । समितिमा ६ सदस्य रहेका छन् । समितिमा समन्व्य समिति प्रमुख संयोजक, महाकाली नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, जनस्वास्थ्य अधिकृत र समन्वय अधिकारी सदस्य रहेका छन् ।