कारागारकाे सुरक्षा नेपाली सेनालाई ।

४ बर्ष अघि

२0७७ असार १ सोमबार

कारागारकाे सुरक्षा नेपाली सेनालाई ।

दृष्टिकोण समाचार असार १ दार्चुला । जिल्ला कारागार दार्चुलाकाे सुरक्षा नेपाली सेनाले गर्न थालेकाे छ । कारागार दार्चुलाको सुरक्षाका लागि सोमबार देखि ११ जना नेपाली सेनाको टोली खटिएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराज बिक्रम थापाले बताउनु भयो । यसअघि नेपाल प्रहरीले जिल्ला कारागारको सुरक्षा गर्दै आएकोमा सोमबारदेखि कारागारको सुरक्षाका लागि नेपाली सेना खटिएको सेनानी थापाले बताएका छन् ।प्रहरीलाई कोरोना रोकथाम तथा नियन्त्रण क्षेत्रमा खटाइने भएकाले जिल्ला कारागारको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनु भयो । ‘आपतकालिन अवस्थामा कोरोना नियन्त्रणका क्षेत्रमा प्रहरी खटाइने भएकाले कारागारको सुरक्षा नेपाली सेनालाई दिइएको हो’ सूचना अधिकारी जोशीले भन्नु भयो ।केही दिन अघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला कारागारको सुरक्षाको जिम्मेवारी सेनालाई दिने निर्णय गरिएकाले सोही अनुसार सोमबार देखि नेपाली सेनाको टोली खटिएको गुल्मपति थापाले बताउनु भयो । दार्चुलामा मात्र नभएर विभिन्न अन्य जिल्लामा पनि जिल्ला कारागार सुरक्षाका लागि सेना खटाइएको उहाँले बताउनु भयो । नेपाल प्रहरीलाई अन्य क्षेत्रमा खटाउनुपर्ने अवस्था आएकाले जनशक्ति अभाव देखिएकाले कारागारमा सेना खटाइएको हो । नेपाल सरकारले अर्काे व्यवस्था नगर्दा सम्म जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले गर्ने गुल्मपति थापाको भनाई छ ।
नेपाल प्रहरी खटिएका क्षेत्रमा मात्र नभई सशस्त्र प्रहरी बल खटिएको विभिन्न क्षेत्रको सुरक्षा पनि नेपाली सेनालाई दिइने भएको छ । सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि सीमा नाकामा तैनाथ गरिने भएकाले सशस्त्रले सुरक्षा गरिएका क्षेत्रमा पनि सेना खटाउन लागिएको जनाइएको छ । 
शैल्यशिखर नगरपालिका वडा नम्बर १ स्थित चमेलिया जलविद्युत् आयोजनाको सुरक्षाको जिम्मेवारी पनि नेपाली सेनाले लिने भएको छ । सकेसम्म असार ५ गते नै चमेलिया जलविद्युत्को सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिने गुल्मपति थापाले बताएका छन् । ‘११ जना सेनाको टोली कारागारको सुरक्षाका लागि खटिएको छ, असार ५ गतेसम्म चमेलिया जलविद्युत्मा पनि खटिने तयारी छ’ उहाँले भन्नु भयो ।