मार्मा गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक  ।

४ बर्ष अघि

२0७७ असार १ सोमबार

मार्मा गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक  ।

दृृष्टिकोण समाचार असार १ दार्चुला । जिल्लाको मार्मा गाउँपालिकाले सोमबार आर्थिक वर्ष ०७७।०७८ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मार्मा गाउँपालिकाले जलस्रोत जडिबुटी एवं पर्यटन पूर्वाधारको विकास, समग्र मार्मा गाउँपालिका सम्बृद्धि र विकासमा हाम्रो प्रयास भन्ने मूल नाराका साथ नीति कार्यक्रम सार्वजनिक गरिएको छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति कार्यक्रमले कोभिड सँग जुध्दै समग्र मार्माको विकासमा केन्द्रीत हुने जनाइएको छ । गाउँपालिकाले स्वरोजगार श्रम पहिचान, सम्बृद्ध मार्मा निर्माणको अभियानलाई मूर्त रुप दिने गरी गाउँपालिका अघि बढेको जनाएको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको लिएको लक्ष्य तथा कार्यक्रमको समिक्षा गर्दै नयाँ नीति कार्यक्रम अघि सारिएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताउनुभयो । गाउँपालिकाले आर्थिक विकासको लागि कृषि क्षेत्रमा जोड दिइएको छ । गाउँपालिकाभरीका बाँझो खेतमा विरुवा रोपेर उत्पादनतर्फ अग्रसर गराउने नीति लिएको छ । जसको लागि एक वडा एक बहुउद्देश्यीय नर्सरीको अवधारणा अघि सारिएको  छ। कृषिमा आधुनिकीकरण गर्दै हरेक वडामा पकेट क्षेत्र विस्तार गरिने छ  ।गाउँपालिकाले कोभिड १९ का कारण भारत लगायतका विभिन्न क्षेत्रबाट रोजगारी गुमाई फर्किएकाहरुको अभिलेख तयार गरि उनीहरुलाई रोजगारको क्षेत्र निर्धारण गरि काममा लगाइने छ । जसको लागि अध्यक्ष रोजगार कार्यक्रम सँञ्चालन गर्न कार्यविधि तयार गरिने नीति लिइएको छ । कोभिडका कारण बेरोजगारी र गरिबीमा परेका व्यक्तिको लागि तत्काल राहत पुग्ने गरी कामको लागि पारश्रिमक वा कामको लागि खाद्यान्न कार्यक्रम मापदण्ड बनाएर कार्यान्वयन गरिने उल्लेख छ ।