काठमाण्डौ जेष्ठ २२ । शुक्रबार र शनिबार देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भन्दै सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।अरब सागरमा बनेको चक्रवात निसर्ग कमजोर हुँदै गए पनि नेपालसम्म आइपुग्दा यसले असर गर्ने भएकाले आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा सामान्यदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले यसकै प्रभावले वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने, बाढी र पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ । यसैगरी उच्च हिमाली भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । निसर्ग चक्रवातसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले अहिले पनि देशभरिकै मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का केही ठाउँमा पानी परिरहेको उहाँले जानकारी दिनुभयो । आज पनि देशका धेरै ठाउँको मौसम पूर्णरुपमा नखुल्ने तर आजको भन्दा भोलि र पर्सीको मौसम अझै बिग्रने सम्भावना रहेको मौसमविद् पौडेलको भनाइ छ । पर्सी शनिबार बेलुकीदेखि भने मौसम खुल्दै जाने उहाँको अनुमान छ ।