२५६४ औँ बुद्ध जयन्ती । 

४ बर्ष अघि

२0७७ बैशाख २५ बिहीबार

२५६४ औँ बुद्ध जयन्ती । 

 बैशाख २५ काठमाण्डौ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजालगायत विधि मात्र पूरा गर्ने भएका छन् । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि आज बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गर्नुभएको हो । यसैबीच आज चण्डी पूर्णिमा अर्थात् किराँत राई समुदायले मनाउने उभौली पर्व । उभौली पर्वमा भूमेस्थानमा पूजा गर्ने गरिन्छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ । गर्मी सुरु हुने भएकाले मानिस बेँसीबाट लेकतिर अर्थात् उँभो लाग्ने भएकाले चण्डी पूर्णिमाको दिन उभौली पर्व मनाउने गरिएको सँस्कृतिविद्हरुले बताउने गरेका छन् ।