दार्चुलाका लागि सधैको खतरा कायमै (फोटो फीचर)

६ बर्ष अघि

२0७५ असार २0 बुधबार

दार्चुलाका लागि सधैको खतरा कायमै (फोटो फीचर)

दृष्टीकोण समाचार, असार १९ दार्चुला । दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपतका कारण सधै खतरमा रहेको छ । विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भुकम्प, चट्याङ, बाढी पहिरो मूख्य रुपमा रहेको छ । 
यसै अन्तरगत अहिले बर्षातको समयमा महाकाली नदिबाट जोखिम बढ्दो अवस्थामा रहेको छ । २०७० सालमा महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा बजारमा कटान गरेपछि त्यसक्षेत्रमा हाल पक्की तटबन्ध निर्माण गरिएको छ । तर महाकाली नगरपालिका ५ बंगाबगड क्षेत्रको पारीपट्टी भारतमा खोतीला पहिरो परेको छ ।

खोतीलाको पहिरो बढ्दै गएमा महाकाली नदि थुनीने सम्भावना रहेको हुँदा दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा क्षती हुने देखिएको छ । 
लगातार परेको बर्षाका कारण महाकाली नदिमा पानीको बहाब बढेपछि खोतीला पहिरो बढ्न थालेको छ । दुई बर्ष पहिले सुख्खा पहिरो परेपछि त्यसक्षेत्रमा महाकाली नदिमा बन्न लागेको तटबन्ध निर्माणको काम प्रभावित भएको थियो । पानीकै बहावका कारण महाकाली नदी नियन्त्रण आयोजनाको १० नम्बर प्याकेजको तटबन्ध भत्केपछि दोश्रो पटक निर्माण गरिएको छ । यो भन्दा पनि सधैँका लागि खतराको रुपमा भारतको छिरकिल्लामा निर्माण गरिएको धौलीगंगा जलविद्युत्त परियोजनाको बाँध हो ।

उक्त जलविद्युत्त आयोजनाले बेला—बेला पानी थुन्ने र छोड्ने  गरेपछि सो भन्दा तल्लो क्षेत्रमा पर्ने नदि किनारका स्थानीयलाई सध्रै खतरा रहेको छ । 
धौलीगंगा जलविद्युत्त परियोजनाकै बाँधका कारण दार्चुलामा २०७० सालमा बाढी आएको विभिन्न अध्ययनहरुले बताएका छन् । धौलीगँगा परियोजनाको पानी छाड्ने समय तालिका एकिन नभएको र समयतालिकाका बारेमा नेपाल तर्फ सधै जानकारी नहँदा खतरा कायमै रहेको  स्थानीयको बुझाई छ ।